गान्तोक: सिक्किम सरकारको वन विभागको पहलमा आज राजधानीस्थित मनन केन्द्रमा मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य आतिथ्यमा सिक्किम पर्यावरण पर्व आयोजन गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ सहित सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण अनि विभिन्न अधिकारीगण, विभिन्न गैर सरकारी संगठनका सदस्यगण अनि जनसाधारणहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलिबाट वन विभागद्वारा तयार गरिएको सिटिजन चार्टरको उद्घाटन गऱ्यो। यो चार्टर अन्तर्गत वन विभागबाट जनतालाई प्राप्त हुने सेवाहरू घर आँगनमा नै पुऱ्याउने व्यवस्था गरिनेछ। योसँगै द ग्रीन स्टेट अफ् सिक्किम थिममा तयार गरिएको विशेष पोस्टल कभरको पनि अनावरण गरियो। यसरी नै मुख्यमन्त्री तामाङले सिक्किम सरकारको वन विभाग अनि सड़क विभागद्वारा संयुक्त रुपमा थालिने अभियान मेरो बाटो मेरो बोटको लोगो अनावरण गरे, जस अभियान अन्तर्गत राज्यको विभिन्न सड़कहरूमा फूट अनि फलहरूको विरूवा रोपिनेछ। त्यसरी नै आजको कार्यक्रममा मुख्यमन्त्री तामाङको बाहुलीबाट विभिन्न पाठशालाहरूलाई चीफ मिनिस्टर ग्रीन स्कूल रोलिङ ट्रफी अनि स्टेट ग्रीन स्कूल अवार्ड पनि प्रदान गरियो भने मेरो रूख मेरो सन्तति कार्यक्रममा सक्रियतापूर्वक सहभागिताको निम्ति मंगन जिल्लाको तिङ्बोङ जीपीयूका आशा कर्मी याङ्जे भोटियालाई उत्कृष्ट आशा कर्मी पुरस्कारले सम्मान जनाइयो। यसरी आज माई चाइल्ड फ्रम वाइल्ड कार्यक्रमको पनि शुरूवात गरियो। यस कार्यक्रम अन्तर्गत एकजनाले आफ्नो नानीको नाममा एउटा वन्य जन्तुलाई काख लिनुपर्नेछ। यस अन्तर्गत आज फिल्म निर्माता स्यामाश्री शेर्पाले पाण्डालाई गोद लिँदै सिक्किम हिमालयन जुलोजिकल पार्कको व्यवस्थालाई चेक प्रदान गरे भने पावर ग्रीड कर्पोरेशन अफ् इण्डियाले पाँच लाख अनि सिप्ला फार्माश्युटिकल लिमिटेडले दुई लाख प्रदान गरे।