खरसाङ: भारत सरकारले एनएच ५५ को मरमत्तिको लागि ४४ करोड़ रूपियाँ आवण्टन गरेको दार्जिलिङका सांसद राजु विष्टले बताएका छन्। सांसद राजु विष्ट आज खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको पैह्रोग्रस्त विभिन्न स्थानहरूको निरीक्षण गर्न आएका थिए। उनी तीनधारे भएर बाघमारा बस्ती हुँदा सिविटार अनि एनएच ५५ अन्तर्गत पगलाझोड़ा र महानदीको पैह्रो क्षेत्रको निरीक्षण गर्न पनि पुगेका थिए। उनले महानदीबाट सिविटार हुँदै गिताङ्गे पुगेर पत्रकारहरूलाई सम्बोधन गर्दै भारत सरकारले एनएच ५५ को मरमत्तिको लागि ४४ करोड़ रूपियाँ आवण्टन गरेको जानकारी गराएका छन्। सांसद राजु विष्टले पत्रकारहरूसित कुराकानी गर्दै पानीझरीले जनजीवन अस्तव्यस्त बनाएको छ भने विभिन्न क्षेत्रहरूमा पैह्रो गएकोले पैह्रो र विभिन्न स्थानहरूको निरीक्षण गर्दै आएको बताएका छन्। उनले पगलाझोड़ाको पैह्रो निरीक्षण गरेर सम्बन्धित विभागको अधिकारीहरूसित कुराकानी गरेको अनि राशि आवण्टित भएको र अब चाढ़ै काम शुरु हुने पनि बताएका छन्। उनले पगलाझोड़ामा पैह्रोले एनएच ५५ तानेकोले रोड बन्द छ अनि अब रोड खोलाउन चाढै काम शुरु हुने अनि विशेष गरेर यहाँ रेलको लिगमाथिपट्टि पहाड़ काटेर रोड निकाल्ने काम गरिने भएको पनि बताएका छन्। सांसद राजु विष्टले महानदीको त्रिसट्ठी पाखामा गएको पैह्रोको कारणले घर सबै गुमाएको एक परिवारलाई व्यक्तिगत रूपमा तत्काल सहयोगको रूपमा एक लाख रूपियाँ अनि पैह्रो प्रभावित अन्य चार परिवारहरूलाई पचास हजार गरेर सहयोग दिने घोषणा गरेको पनि बताएका छन्। सांसद विष्टले पहाड़का नेताहरूलाई अपिल गर्दै भने, ‘यो दु:ख परेको बेलामा पहाड़का नेताहरूले जनतालाई सहयोग गरिदिनुपर्छ। पहाड़ हाम्रो नेताहरूले बिगारेको हो। यो पानी झरीले भन्दा बेसी नेताहरूले पहाड़ बिगारेका छन्। यो उचित होइन। नेताहरूले पहाड़लाई माया गर्दैनन् कि त जीटीए जस्तो सानो व्यवस्था पनि चलाउन नसकेको हो। चलाउन सक्दैन भने म ट्रेनिङ दिनु तयार छु। कि त राज्यले पैसा नदिएको हो। त्यसो हो भने केन्द्र सरकार समक्ष आउनु हवस कति पैसा रुपियाँ चाहिन्छ भन्नु हालौं पनि सघाउनु तयार छु।’
सांसद राजु विष्टले अघि भने, ‘टिस्टावासीको पनि धेरै बिजोग भएको छ। केही दिनपछि म टिस्टा जानेछु। म अधिक समय जनतालाई दिन चाहान्छु। जनताको माया, भरोसा र विश्वासलाई तोड्दिन।’
सांसद राजु विष्टले अझ भने, “सबै जनताको भलो होस्। गोर्खा जातिको भलो होस्। गोर्खा जातिले सोचेको सपना पूरा हुन्छ। तर यस्ता साना साना कुराहरूले मेरे समय कम बनाउँछ।’
पत्रकारहरूले सोधेका एक प्रश्नको उत्तरमा सांसद राजु विष्टले भने, ‘स्थायी राजनैतिक समाधान हुन्छ अवश्य नै। हामीले हाम्रो अधिकार पाउनुपर्छ। भारत सरकारले हाम्रो अधिकार दिनुपर्छ। भर्खरै चुनावको परिणाम आएको छ। यसावधि गृहमन्त्रीलाई मैले भेट गरे र उनले गोर्खाहरूको समस्या समाधान गर्ने वचन दिएका छन् तर केही समय लाग्नसक्छ। मैले टिस्टाको मुद्दा, जनजातिको मुद्दा, गोर्खाल्याण्डको मुद्दा पनि स्पष्ट रूपमा उठाएको छु।