गान्तोक: राष्ट्रिय राजमार्ग १० लाई लिएर सिक्किम, दार्जीलिङ, कालेबुङ लगायत पहाडवासीहरूले भोग्नु परिरहेको समस्याका सम्बन्धमा आफूले केन्द्र सरकारसँग कुरा राखिसकेको राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै आज मुख्यमन्त्री तामाङले प्रकारको जानकारी गराएका हुन्। उनले यो समस्या पहिलेदेखिकै रहेको बताउँदै आफूले दिल्ली भ्रमणका क्रममा देशका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह साथै यातायात विभाग मन्त्री लगायत अन्य केन्द्रीय मन्त्रीहरूलाई यसबारे अवगत गराइसकेको र आफूले सिक्किमलाई लिएर मात्र होइन तर सम्पूर्ण पहाडवासीहरूका पक्षमा पनि कुरा उठाएको जानकारी गराए। पहाडवासीहरूका लागि गाढे घाउ सरह बनेको यस राष्ट्रिय राजमार्गमा समस्या हुँदा सेनाका वाहनहरू तथा अन्य सार्वजनिक सवारी साधनहरूको आवागमनमा समस्या हुने उनले अवगत गराए। राष्ट्रिय राजमार्गलाई केन्द्र सरकारको अधिनमा ल्याइँदा कुनै पनि काम तुरून्त गर्न सकिने मुख्यमन्त्रीले सम्भावना व्यक्त गर्दै समस्या निदानका लागि पहल गर्न केन्द्रसँग आफूले कुरा राखेको थप जानकारी गराए। उनले सिक्किमका लोकसभा अनि राज्य सभा सांसदद्वय डीटी लेप्चा र डा. इन्द्रहाङ सुब्बाको उपस्थितिमा यी कुराहरू राखेको साथै सांसद राजु विष्टले पनि यसबारे जानकारी गराएको गराएको पत्रकारहरूलाई बताए। यसरी केन्द्र सरकारप्रति यी विषयहरू राखिएपछि पश्चिम बङ्गाल अनि सिक्किम सरकारका सम्बन्धित विभागीय सचिवहरूसँग केन्द्रले बैठक राख्ने भएको समेत मुख्यमन्त्रीले जानकारी दिए। मुख्यमन्त्रीले राष्ट्रिय राजमार्गको यस समस्यालाई कुनै पनि स्थितिमा समाधान गरिछाड्नुपर्ने कुरामाथि जोड दिँदै यस सम्बन्धमा केही थप कुराहरू पनि पत्रकारहरूलाई सम्बोधन अवगत गराए।