
विराटनगर: विराटनगरमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई अवैध हिसाबले यौन धन्दामा लगाउने गरिएको पाइएको छ। आकर्षक रोजगारी दिने भन्दै प्रलोभनमा पारी युवतीहरूलाई यौन धन्दामा प्रयोग गर्ने गरेको पाइएको हो। पुलिसले फ्ल्याटबाट ६ जनालाई उद्धार गरेको छ। वार्ड पुलिस कार्यालय विराटनगरबाट खटिएको डीएसपी बुद्ध श्रेष्ठ नेतृत्वको टोलीले भाडाको फ्ल्याटमा छापा हानेर २१ देखि २३ वर्ष उमेर समूहका युवतीहरूको उद्धार गरेको हो। मोरङ पुलिस प्रमुख एसपी नवराज कार्कीका अनुसार उद्धार गरिएकामध्ये काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १/१ जना तथा झापाका २ जना छन्। सुनसरीको इनरुवाका अन्दाजी ३० वर्षीय राजकुमार साह र झापा गरामनीकी २३ वर्षीया सन्ध्या चुँडालले विराटनगर महानगरपालिका्- ११ स्थित नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई यौन व्यवसायमा लगाउँदै आएको पुलिसको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। एसपी कार्कीका अनुसार साह र चुँडालले मोहन सिटौलाको दुई तले घरको भुइँ तलाको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई राख्ने गरेको खुलेको छ। उनले भने, ‘आकर्षक रोजगारीको प्रलोभनमा पारेर काठमांडू लगायत विभिन्न ठाउँबाट झिकाइएका युवतीहरूलाई आफ्नो सम्पर्कमा रहेका व्यक्तिसँग जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गरेका छन्। ’साह र चुँडालले यौन व्यवसायमा लगाउने नाममा युवतीहरूलाई चरम यातनासमेत दिने गरेको एसपी कार्कीको भनाइ छ। ‘कुटपिट गरेको चोट र निलडाम शरीरभरि छ। हातलगायत शरीरका विभिन्न भागमा चुरोटका ठुटाले पोलेको घाउहरू देखिन्छ,’ उनले भने, ‘आफूहरूले भनेको नमानेमा युवतीलाई कुटपिट गर्दै यातना दिने गर्दा रहेछन्। यातना र शोषणको पीडासहित युवतीहरूले प्रहरीलाई खबर गरेका थिए। ’युवतीलाई कुटपिट गर्दै यातना दिएर जरबजस्ती यौन क्रियाकलापमा लगाउनेमध्ये चुँडाललाई प्रहरीले पक्राउ गरेको छ। चुँडालका व्यावसायिक साझेदार साह भने फरार भएका छन्। उनको खोजी भइरहेको छ। उनीविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन रविबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाइएको पुलिसको भनाइ छ।