सिलगढी: आज कम्युनिष्ट राजनीतिका पिता भनेर चिनिने ज्योति बसुको १११औँ जन्मजयन्ती सीपीआईएम, दार्जीलिङ जिल्ला समितिले देशका अन्य भाग र राज्यमा पनि मनायो। पार्टी कार्यालय अनिल विश्वास भवन अगाडि यस अवसरमा पूर्व राज्यमन्त्री अशोक भट्टाचार्य, जय चक्रवर्ती, जीवेश सरकार र अन्य सीपीएम नेताहरू उपस्थित थिए। यस अवसरमा पूर्वमन्त्री अशोकका भट्टाचार्यले पार्टीको झण्डा फहराए। साथै ज्योति बसुको तस्वीरमा पुष्प अर्पण गरी श्रद्धाञ्जली अर्पण गरियो।

यस अवसरमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वमन्त्री तथा सिलगढीका मेयर अशोक भट्टाचार्यले ज्योति बसु वामपन्थी राजनीतिलाई नयाँ दिशा दिने नेता भएको बताए। उनले २४ वर्ष पश्चिम बंगालको मुख्यमन्त्री हुनुका साथै विधानसभाको विपक्षी दलको नेता भएर बंगालको विकासलाई नयाँ उचाइमा पुर्याएको बताए। उनले भने, ‘म पनि उनको नेतृत्वमा १० वर्ष मन्त्री भएँ। उनको व्यक्तित्व निकै आकर्षक र नेतृत्वदायी थियो। उनले कम्युनिष्ट पार्टीमा पुर्याएको योगदान सदैव स्मरणीय रहनेछ।‘