सोरेङ: सोरेङ जिल्ला बक्सिङ एसोसिएसनको तत्वावधानमा टिम्बुरबुङ स्कूलमा आयोजित ७ दिवसीय दोस्रो समर बक्सिङ प्रशिक्षण शिविरको समापन भयो। उक्त शिविरमा सोरेङ जिल्लाका दसवटा स्कूलका कूल २९ जना खेलाडटीहरूले अंशग्रहण गरेका थिए।
यसभन्दा अघि एसोसिएसनले कर्थोक स्कूलमा पहिलो पटक बक्सिङ शिविरको आयोजना गरेको थियो। यसरी नै सोरेङ जिल्ला बक्सिङ एसोसिएसनले बजेक र लोवर टिम्बुरबुङ स्कूलमा पनि विन्टर बक्सिङ शिविरको आयोजना गरिसकेको छ।
बक्सिङ प्रशिक्षण शिविरको समापन कार्यक्रममा सोरेङ-च्याखुङ समष्टिका सीएलसी समन्वयक दिवस गोले प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि दिवस गोलेले सोरेङ जिल्ला बक्सिङ एसोसिएसनले सफलतापूर्वक समर बक्सिङ प्रशिक्षण शिविर आयोजना गरेकोमा बधाई दिँदै उनले खेलकूद क्षेत्रमा सोरेङ जिल्लालाई पावर हाउस बनाउनु पर्ने उद्देश्यले काम गर्नुपर्ने सुझाउ दिएका छन्।
एसोसिएशनले स्थानीय बक्सिङ खेलाडीहरुलाई सुनौलो मञ्च प्रदान गरिरहेको बताउँदै राज्यमा बक्सरहरुको भविष्य सुनौलो रहेको मन्तव्य प्रकट गरे। मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा एसकेएम सरकारले अघिबाटै सिक्किममा अर्जुन पुरस्कार प्रापक जसलाल प्रधान स्टेट बक्सिङ एकाडमीको स्थापना गर्ने घोषणा गरिसकेको र हाल निर्माण कार्य चलिरहेको जानकारी गराए।










