हिमाचल प्रदेशमा मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य आतिथ्यमा बौद्ध धर्मगुरू दलाई लामाको ८९औं जन्म जयन्ती पालन

IMG-20240706-WA0222

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य आतिथ्यमा धर्मशालाको म्याकलोडगञ्जमा स्थित दलाई लामा गुम्बामा परम पावन १४औं दलाई लामाको ८९औं जन्म जयन्ती भव्यताको साथ पालन गरियो। कार्यक्रममा केन्द्रिय तिब्बती प्रशासनका नेता पेन्पा छिरिङ, तिब्बती निर्वासन संसदका अध्यक्ष खेन्पो सोनाम तेनफेल, सिक्किम विधानसभाका अध्यक्ष एम.एन. शेर्पा, मन्त्रीगण, विधायकगण लगायत विभिन्न प्रान्तबाट बौद्ध धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो।

मुख्य अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री तामाङले “खुशी अगावै तयार गरिने कुरा होइन यो तपाईंको आफ्नो कार्यद्वारा आउँदछ’’ भन्ने परम पावन 14औं दलाई लामाको भनाईबाट आफ्नो सम्बोधनको शुरुआत गरे। उनले परम पावनलाई सिक्किम अनि सिक्किमेली जनसमुदायको पक्षबाट जन्मदिनको शुभकामना दिँदै सुस्वास्थ्य एवं दीर्घायुको कामना गरे। सिक्किममा पनि भव्यताको साथ परम पावन १४औं दलाई लामाको जन्म जयन्ती पालन गर्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री तामाङले यसपाली आफूहरू यस धर्मशालाको म्याकलोडगञ्जमा अवस्थित यस पवित्र स्थलमा आएर कार्यक्रममा सहभागी बन्ने सौभाग्य पाएको अनि परम पावनबाट आशीर्वाद पाएकोमा कृतज्ञता व्यक्त गरे। १९५६-सालदेखि यस धर्मशालामा परम पावनले पाइला टेकेपछि सिक्किम राज्यमा पनि नियमित अन्तरालमा उहाँको आगमन भएको मुख्यमन्त्रीले जानकारी गराए। गत वर्ष अक्टोबर २०२३-मा सिक्किममा आएको प्राकृतिक ताण्डवपछि दिसम्बर २०२३-मा परम पावनको आगमन भएको स्मरण गर्दै मुख्यमन्त्री तामाङले सिक्किममा उहाँको उपस्थिति अँध्यारोपछि छाएको उज्यालोजस्तै बनेको बोध गरे। १९५६-सालमा केवल २१ वर्षको उमेरको हुँदादेखि हालसम्म परम पावनले ८ पल्ट सिक्किमको भ्रमण गरी सिक्किम अनि सिक्किमेली जनसमुदायलाई आशीर्वाद दिइसकेकोमा मुख्यमन्त्री तामाङले आभार व्यक्त गरे। शान्ति, सद्भाव, प्रेम, करुणाको साथ जीवन जिउनुपर्ने परम पावनको विचारधारालाई अनुशरण गर्दै सिक्किम सरकारले वैश्विक मञ्चमा प्रभावकारी छाप छोड़्न सफल पर्यावरणमैत्री “मेरो रुख, मेरो सन्तति’’, “शिशु समृद्धि योजना’’ शुरु गरिसकेको मुख्यमन्त्री तामाङले जानकारी गराए। प्रकृति अनि पर्यावरण संरक्षण, सम्बर्द्धनमा सिक्किम सरकारको यो सानो योगदान रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले आगामी ९ जुलाईको दिन पर्यावरण पर्व समापन अवधि पर्यावरणमैत्री “मेरो बाटो, मेरो रोड’’ योजनाको शुभारम्भ गरिने अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement