दार्जिलिङ: दार्जिलिङको पर्यटकीय स्थल रक गार्डन अनि गङ्गा माया पार्क अस्थायी रूपमा बन्द रहने भएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, पर्यटन विभागका कार्यकारी निर्देशकको कार्यालयले एउटा सूचना जारी गरेर दार्जिलिङस्थित रक गार्डन अनि गङ्गामाया पार्कलाई अस्थायी रूपमा बन्द गरेका छन्। सूचनामा भनिएको छ कि पहाडको विभिन्न क्षेत्रमा हालै परेको अविरल वर्षाका कारण पहिरो जाने, सडक अवरुद्ध हुने र जोखिमपूर्ण रुपमा नदीको बहाव बढ्दै गएकाले पर्यटक तथा स्थानीय समुदायको सुरक्षाका लागि पर्यटन विभाग, जीटीएले सावधानी अप्नाउने निर्णय लिएको छ। त्यही निर्णय अनुसार दार्जीलिङस्थित रक गार्डन र गंगा माया पार्क अस्थायी रूपमा बन्द हुने भएको छ। मौसमको अस्थिरताका कारण कुनै पनि सम्भावित दुर्घटना वा आगन्तुकहरूलाई नोक्सान हुन नदिन यो निर्णय लिइएको बताइएको छ।

यस आदेशबाट हुने कुनै पनि असुविधाको लागि खेद प्रकट गर्दै भनिएको छ कि यो निर्णय सबै सरोकारवालाहरूको सुरक्षा र कल्याणलाई प्राथमिकतामा राखेर लिइएको हो। पार्कहरू अर्को सूचना नभएसम्म बन्द रहनेछन् र पानीको स्तर घटेपछि फेरि खोलिनेछन्। सबै पर्यटकहरू र अपरेटरहरूलाई यी क्षेत्रहरूबाट टाढा रहन र यो आदेश पालना गर्न आग्रह पनि गरिएको छ।