सालबारीमा पादरी गङ्गाप्रसाद प्रधान र हरिभक्त कटुवालको जन्म जयन्ती पालन

IMG-20240706-WA0201

सालबारी: पादरी गङ्गाप्रसाद प्रधानको १७३औं अनि कवि हरिभक्त कटुवालको ८९औं जन्म जयन्ती संयुक्त रूपमा सालबारी सम्पन्न गरिएको छ। ०४ जुलाई पादरी गंगाप्रसादको जन्म दिन र ०२ जुलाई कवि कटुवालको जन्म दिन भएकाले शब्द समयले यी महान् विभूतिद्वयको जयन्ती एकै दिन मनाउने परम्परा बनाएको छ। कार्यक्रमको अध्यक्षता डा. सञ्जय बान्तवाले गरेका थिए। सिने-अभिनेता टंक शर्मा र गहन अध्येता, वरिष्ठ राजनीतिक चिन्तक डीएस बमजन दुवैको करकमलबाट स्रष्टाद्वयका तस्वीरमा खादार्पण भएपछि कार्यक्रमको शुभारम्भ गरियो।
पादरीमाथि आफ्नो वक्तव्यमा डी एस बमजनले भने, ‘४० को दसकसम्म आदिकवि भानुभक्तको चिनारी सर्वसाधारणमाझ पुगेको थिएन। दार्जीलिङमा भानु जयन्ती सर्वप्रथम सन् १९४६ मा मनाइएको हो। यसको ठूलो श्रेय पादरीलाई जान्छ। बाइबल नेपालीमा अनुवाद गर्ने जस्तो महत् कार्य गर्ने पहिला व्यक्ति पादरी नै थिए।’
यसै क्रममा कवि रेभ. हेमन्त काँफ्लेले आफ्नो वक्तव्यमा भने, ‘जुलाई हामीहरूका लागि एउटा विशेष महिना हो। यसै महिना कटुवाल, पादरी र आदि कविको जन्म-जयन्ती मनाउने र यस्ता जातीय विभूतिहरूलाई सम्झने अवसर जुर्छ। पादरी इसाई थिए, तापनि उनी सर्वप्रथम नेपाली थिए। पादरीको योगदानालाई कुनै एउटा परिधिभित्र मात्र सिमित राख्नु हुँदैन। उनले भाषा र जातिप्रति गरेको योगदानको चर्चा नेपाली समूहमा पु-याउने दायित्व हामी सबैको हो। उनलाई सबैले चिन्नुपर्छ र उहाँको कदर हुनुपर्छ।
यसै क्रममा वरिष्ठ साहित्यकार आईएन शर्माले पनि विभूतिद्वयमाथि आफ्नो वक्तव्य राखे। दार्जीलिङमा कटुवालसित उनको भेटलाई एउटा मिठो र अविस्मरणीय क्षण भनी उनले बताएका छन्। कार्यक्रममा वरिष्ठ कवि मोहन ठकुरी, कविता भट्टराई अधिकारी, पूर्ण मंगर, नीरा सुब्बा नेचाली, कृष्णप्रसाद अर्पण र जीत सुनारले कटुवालका कविता पाठ गरेर सुनाएका थिए। नरबहादुर छेत्रीले कटुवालको कालजयी गीत ‘यो देशको माटोले भन्छ’ गाएर सुनाए। लीलबहादुर सुनारले कटुवालमाथि एउटा मुक्तक सुनाए भने देविका मग्रांतीले कटुवालमाथि तीन मुक्तक सुनाइन्। मोनिका प्रधानले कवि भविलाल लामिछानेले कटुवालको स्मृतिमा लेखेको एउटा कविता पाठ गरेर सुनाइन्। मणिकुमार प्रधानले सन् १९७४ मा कटुवालले आफ्नै हस्ताक्षरमा प्रेरणास्वरूप उनलाई लेखेर दिएका केही पङ्क्ति सुनाए। कार्यक्रममा कवि राजा पुनियानी, कवि सुरज गुरुङ र रोशन तामाङ पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement