तेश्रो लगानी सम्मेलनपछि दुई परियोजनाका आशय पत्र बुझाए

IMG-20240706-WA0090
बिराटनगर:लगानी सम्मेलनका दौरान सोकेसमा राखिएका परियोजनामा अहिलेसम्म दुई परियोजनामा मात्र लगानीकर्ताको आशय पत्र  बुएको छ। लगानी बोर्डका उपसचिव रमेश अधिकारीका अनुसार तेस्रो लगानी सम्मेलनमा लगानी बोर्डको कार्यक्षेत्रभित्र पर्ने कुल १२ वटा परियोजनामा आशय पत्र मागिएको थियो। यसमा ८ वटा परियोजनामा मागिएको आशय पत्रको अवधि पूरा भई खोलिएको छ।

यसमा जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेज परियोजना र बबरमहल एडमिनिस्ट्रेटिभ प्लाजा सहित दुई परियोजनाका आशय पत्र प बुझाएको अधिकारीले जानकारी दिए। उनका अनुसार हेरिटेज होटलमा स्वदेशी लगानीकर्ता सोल्टी शिवबिक्रम प्रालि ताहाचलले आशय पत्र बुझाएको छ।

यो परियोजना चार वर्ष अगाडिको लगानी सम्मेलनमा समेत सोकेसमा राखिएको थियो। पछिल्लो समय सोल्टी होटलले तीव्र लगानी विस्तार गरिरहेको छ। सो क्रममा कम्पनीले जानकी होटलमा लगानीको आशय देखाएको हो। यस होटलको लागत साढे २ अर्ब अनुमान गरिएको छ। लगानी बोर्डले लगानी सहजीकरणका लागि काम गर्नुपर्ने हुन्छ। बबरमहल प्रशासनिक प्लाजाका लागि समेत एक आशय पत्र प्राप्त भएको छ। यस परियोजनामा गन्सु–एसएस–ल्यान्डमार्क काठमांडूले आशय पत्र बुझाएको बोर्डले बताएको छ
८ वटा परियोजनामा पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वे, धुलिखेल मेडिसिटी प्रोजेक्ट, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना, दाइजी औद्योगिक पार्क र गौतमबुद्ध मेटरनिटी हस्पिटलमा भने कुनै पनि लगानीकर्ताले आशय देखाउन नसकेको लगानी बोर्डले जनाएको छ। बाँकी ४ परियोजनाको भने आशय पत्र लिने अवधि १२ जुलाई २०२४ रहेको छ। यी चार परियोजनामा नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना (२८१ मेगावाट), कालिगण्डकी २ स्टोरेज जलविद्युत् परियोजना (६५० मेगावाट) खिम्ती थोसे शिवालय स्टोरेज जलविद्युत् (१२१६ मेगावाट) र भार्भुङ स्टोरेज हाइड्रोपावर (३३७ मेगावाट) रहेका छन्।
स्रोतका अनुसार लगानीकर्ताले सोकेसमा राखेका आयोजनामा लगानी गर्न अभिरूचि राख्ने लगानीकर्तालाई थप एक महिनाको समय दिइएको छ। उपसचिव अधिकारीका अनुसार सरकारले तेस्रो लगानी सम्मेलनमा आशय पत्र माग्ने गरी १९ परियोजना छनोट गरी सोकेसमा राखिएको थियो। यसमध्ये लगानीबोर्डको अधिकार क्षेत्रभित्र पर्ने परियोजनाहरूमा आशय पत्र दिने समय थप एक महिना पछि सारिएको छ। यसअघिको अवधि सम्पन्न भए पनि लगानीकर्ताले अबको एक महिनासम्म आशय पत्र पेस गर्न सक्ने छन्।

सरकार र निजी क्षेत्रको आयोजनामा तेस्रो लगानी सम्मेलन २८ र २९ मईमा काठमांडूमा आयोजना गरिएको थियो। सरकारले नेपालमा लगानीको वातावरण बनेको भन्दै आयोजनाहरू लगानीकर्ता समक्ष प्रस्तुत गरेको थियो। तर, लगानी सम्मेलन सम्पन्न भएको तेस्रो महिना बितिसक्दा विदेशी लगानीकर्ताबाट कुनै पनि आशय पत्र प्राप्त नहुनु र स्वदेशीले समेत दुई वटा मात्र प्रस्ताव गर्नुले लगानी सम्मेलनको उपलब्धि उत्साहजनक नदेखिने सम्भावना बढेर गएको छ।

लगानी सम्मेलनको संघारमा हतार–हतार कानुनहरू संशोधन गरिएको थियो। सरकारले यस पटक १ सय ५२ वटा परियोजनाहरू सोकेसमा राखेको थियो। यी परियोजनाहरू विभिन्न चरणमा रहेका थिए। सरकारले तेस्रो लगानी सम्मेलनसम्म आइपुग्दा हरेक पटक उही प्रकृतिका परियोजना सोकेसमा राख्ने र ती परियोजनालाई अगाडि बढाउन न्यूनतम तयारीका काम समेत पूरा गर्न नसक्दा लगानीकर्ता आकर्षित हुन सकेका छैनन्।

लगानी सम्मेलनकै क्रममा रारामा रिसोर्ट खोल्न एक्सपर्ट ग्रुपसँग सम्झौता भएको थियो। लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका थिए।

सम्मेलनका क्रममा नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) र इन्डियन इन्डस्ट्रिज एसोसिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सम्झौतापत्रमा एफएनआईसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरेका थिए।

सम्मेलनका क्रममा चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई समझदारी भएका थिए। नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच समझदारी भएको हो।
गत सोमबार नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच समझदारी भएको हो।
नेक्सजेनले एमएबीसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआईसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ।

सम्मेलनमै साखः ग्रुपले होटलमा भित्र्याउने गरी सम्झौता गरेको थियो। साखः ग्रुपले नेपालमा होटल क्षेत्रका लागि वैदेशिक लगानी भित्र्याउने बताएको छ । साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी आरएमबी पाँच करोडदेखि १० करोडसम्म लगानीका लागि सम्झौता भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज मलेसियाबीच लगानी सम्मेलनको उद्घाटनका अवसरमा द्विपक्षीय सम्झौता भएको थियो। डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्नेबारे नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच सम्झौता भएको थियो।
लगानी सम्मेलनकै दौरान उद्योग विभागबाट ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको थियो। विभागले विभिन्न चार वटा उद्योगका लागि सो रकम बराबरको लगानी स्वीकृत गरेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement