मधेशमा जनमतकै सरकारलाई निरन्तरता दिन कांग्रेस–एमाले सहमत

IMG-20240706-WA0035
बिराटनगर: मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकारले निरन्तरता पाउने भएको छ।

नयाँ सत्ता समीकरणको सहमति गरिसकेका नेपाली कांग्रेस र नेकपा एमाले मधेश प्रदेशको नेतृत्व जनमत पार्टीलाई दिन तयार भएको हो। बाँकी ६ प्रदेशको नेतृत्वबारे भने कांग्रेस र एमालेले निर्णय गरिसकेको छ।

तर मधेश प्रदेशमा भने यी दुई मिलेर मात्रै बहुमत पुग्दैनथ्यो। मधेशमा एमालेसँग सभामुख सहित २५ र कांग्रेससँग २२ सिट छ।

तर १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ। तसर्थ कुनै तेस्रो दललाई लिनुपर्ने बाध्यतामा कांग्रेस–एमाले थिए।

यस्तोमा एमालेले जनमत पार्टीकै नेतृत्व स्वीकारेर जानुपर्ने प्रस्ताव गरेको थियो। माओवादी केन्द्र सहितको सत्ता समीकरण टिकाउने गठजोडकै समय जनमत पार्टीका सतिशकुमार सिंह गत ७ जुनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभामा बहुमत देखाउनुपर्ने संवैधानिक व्यवस्था भएकाले ५ जुलाईमा बिश्वासको मत लिन प्रदेश सभा बैठक बोलाइएको थियो।

बैठकको अघिल्लो दिन कांग्रेस–एमालेले विश्वासको मत दिन तयार भएको हो। जनमत पार्टीसँग प्रदेश सभामा १३ सांसद छन्। अर्थात कांग्रेस र एमालेको साथ पाएपछि सिंहले प्रदेश सभाको बहुमत पाउने भएका छन्।

एमालेले प्रदेश सभा बैठक राखेरै सिंहलाई विश्वासको मत दिने निर्णय भएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार, कांग्रेसले पनि सिंहलाई विश्वासको मत सहमति भइसकेको छ।

यी तीन दल बाहेक प्रदेशसभामा नेकपा माओवादी केन्द्रसँग ९, लोकतान्त्रिक समाजवादी पार्टीसँग ९, एकीकृत समाजवादीसँग ८, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीसँग १–१ सिट छन्।

गत ५ मईमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा), नेपालसँग १६ सिट छ। सर्वोच्च अदालतको आदेशका कारण यो पार्टीका सांसदहरू अहिलेसम्म जसपा, नेपालमै छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement