साहित्यकार प्रेम प्रधान ‘शोभाकान्ति थेगिम मेमोरियल अवार्ड’ ले अलङ्कृत

IMG-20240704-WA0308

गान्तोक: साहित्यकार प्रेम प्रधानलाई वर्ष २०२४ को निम्ति ‘शोभाकान्ति थेगिम मेमोरियल अवार्ड’ ले अलङ्कृत गरिएको छ। राजधानीको सर टाशी नामग्याल उच्चतर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आज आयोजित एक कार्यक्रममा साहित्यकार प्रधानलाई उक्त पुरस्कारले अलङ्कृत गरिएको हो।

डा शोभाकान्ति थेगिम मेमोरियल ट्रस्टले आयोजना गरेको उक्त कार्यक्रममा स्वास्थ्य विभाग मन्त्री जीटी ढुङ्गेल मुख्य अतिथि थिए।

ट्रस्टका अध्यक्ष डुप छिरिङ लेप्चाले सञ्चालन गरेको कार्यक्रममा साहित्य जगतका गणमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पोएट आइडलका विजेता सिम्योन एस राई, फाइनलिस्ट सबिना राई र प्रतिभागीद्वय मोनिका राई र विवेक बस्नेतलाई सम्मानित गरियो।

मुख्य अतिथि मन्त्री ढुङ्गेलले कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई बधाई दिॅंदै साहित्यको क्षेत्रमा उनीहरूका उल्लेखनीय योगदानको सराहना गरे। उनले नेपाली भाषा र साहित्यको संरक्षणको दिशामा डा शोभाकान्ति थेगिम मेमोरियल ट्रस्टले गर्दै आएको अथक प्रयासको पनि प्रशंसा गरे। उनले साहित्यको क्षेत्रमा योगदान दिन र राज्यलाई साहित्यको केन्द्र बनाउन सबै साहित्यकारहरूलाई अगाडि आएर सहयोग गर्न प्रोत्साहित गरे।

कार्यक्रममा मुख्य अतिथिको बाहुलीद्वारा दार्जीलिङका एक प्रतिष्ठित साहित्यकार प्रेम प्रधानलाई उनको ‘चिन्ता सल्केको पहाड’ को निम्ति अभिनन्दित गरियो। साहित्यकार प्रधानले आफ्नो सम्बोधनमा ट्रस्टप्रति कृतज्ञता व्यक्त गर्दै संस्कृति र साहित्यको क्षेत्रमा समाजको सक्रिय सहभागितामाथि बल दिए।

About Author

Advertisement