च्याम्पियन टीम इण्डियालाई दिल्लीमा भव्य स्वागतपछि मुम्बईमा भिक्ट्री परेड अनि विशेष सम्मान

IMG-20240704-WA0301

नयाँ दिल्ली: भारतीय क्रिकेट टीम आईसीसी टी२० वर्ल्ड कप जितेर बिहीवार बिहान विशेष विमानद्वारा स्वदेश फर्कियो। वर्षाको पर्वाह नगरी खेलाड़ीहरूलाई स्वागत जनाउन एयरपोर्टमा प्रशंसकहरूका भीड़ लागेको थियो। कप्तान रोहित शर्माको साथमा सूर्यकुमार यादवले एयरपोर्टबाट बाहिर निस्किएपछि वर्ल्ड कप जितेको खुशीमा प्रशंसकहरूसँग नृत्य गरे, जसको भीडियो सोशल मीडियामा वायरल भइरहेको छ। वर्ल्ड च्याम्पियनहरूका एक झलक पाउन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टमा प्रशंसकहरू विभिन्न ब्यानर र राष्ट्रिय ध्वजको साथ हाजिर थिए।

एयर इण्डियाको विशेष विमान एआईसी२४डब्ल्यूसी (एयर इण्डिया च्याम्पियन्स २४ वर्ल्ड कप) बुधवार भारतीय समयानुसार बिहान ४:५० बजी बारबाडोसबाट उड़ेको थियो अनि १६ घण्टा लगातार यात्रापछि बिहीवार बिहान लगभग ६ बजी दिल्ली पुग्यो। तूफान बेरिलले गर्दा भारतीय टीम वर्ल्ड कप जितेपछि पनि बारबाडोसबाट स्वदेश फर्किन सकेको थिएन। भारतीय टीम एयरपोर्टबाट सीधै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न उनको आवासमा गयो। पीएम मोदीले टीमका प्रत्येक सदस्यसँग बातचीत गरे अनि उनीहरूलाई असाधारण जीतको निम्ति बधाई दिए। गत शनिवार भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरी आईसीसी टी२० वर्ल्ड कपको खिताब जितेको थियो। यस अवसरमा बीसीसीआई अध्यक्ष रोजर बिन्नी र सचिव जय शाहले प्रधामन्त्रीलाई भारतीय टीमको विशेष जर्सी भेट गरे, जसमा ‘नमो’ लेखिएको थियो। भारतीय टीम नयाँ दिल्लीबाट मुम्बई पुग्दा भव्य स्वागत जनाइयो। टीमको विमान मुम्बई पुग्दा वाटर क्याननद्वारा सेल्यूट दिइयो। भारतीय टीमको निम्ति भिक्ट्री परेडको पनि आयोजन गरियो, जुन मरीन ड्राइवबाट वानखेड़े स्टेडियमसम्म चल्यो। यसको निम्ति एउटा खुल्ला छाना भएको बसमा सवार भएर खेलाड़ीहरूले प्रशंसकहरूसँग वर्ल्ड कप जीतको खुशीयाली मनाए।

भारतीय खेलाड़ीहरूका समर्थन अनि वर्ल्ड कपमा जीतको खुशीयाली मनाउन सड़कमा हजारौंको संख्यामा प्रशंसकहरू ओर्लिएका थिए। अन्तमा भारतीय टीमलाई बीसीसीआईको तर्फबाट वानखेड़े स्टेडियममा सम्मान जनाइयो। यस अवसरमा बोर्डको तर्फबाट च्याम्पियन टीमलाई १२५ करोड़ रुपियाँको चेक पनि प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement