गान्तोक: आज जर्नलिस्ट युनियन अफ सिक्किमको नवनिर्वाचित कार्यकारी समितिले राजभवनमा राज्यपाल लक्ष्मणप्रसाद आचार्यसँग एउटा शिष्टचार भेट गऱ्यो। युनियनका अध्यक्ष सुजल प्रधानको नेतृत्वमा गएको कार्यकारी समितिको टोलीले राज्यपालसँग सिक्किमको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा चर्चा गरेको छ। युनियनको पक्षमा कुराकानी गर्दै कार्यकारी समितिले सिक्किममा श्रमजीवी पत्रकारको अवस्था, उनीहरूले भोग्नुपर्ने समस्या तथा पत्रकारिता क्षेत्रमा रहेका सम्भावनाहरू बारे राज्यपाल समक्ष चर्चा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
राज्यपालले नवनिर्वाचित कार्यकारी समितिका सदस्यहरूलाई बधाई दिँदै पत्रकारहरूसँग सधैं आफ्नो नजिकको सम्बन्ध रहेको बताए। उनले आफ्नो कुरा राख्दै सिक्किमका श्रमजीवी पत्रकार र जर्नलिस्ट युनियनको पक्षमा सकेसम्म सहयोग गर्ने आश्वासन दिएका छन्। सिक्किमको राम्रो र सकारात्मक पक्ष, यहाँको प्राकृतिक सौन्दर्य, पर्यटनका सम्भावनाहरू र संस्कृतिलाई राष्ट्रिय स्तरसम्म पुर्याउनका लागि राष्ट्रिय स्तरका प्रेस सङ्गठनहरूसँग मिलेर जर्नलिस्ट युनियन अफ सिक्किमले काम गर्न सक्ने सुझाव पनि राखेका छन्। भविष्यमा कुनै पनि सहयोग गर्न परेमा जर्नलिस्ट युनियन अफ सिक्किमलाई सहयोग गर्ने पनि राज्यपालले आश्वासन दिएका छन्।