गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा सुनौं सुनाऔंको पचासौं प्रकरण सम्पन्न

IMG-20240704-WA0273

स्वर्ण प्रकरणमा प्रस्तुत गरिएको कविताहरूलाई दस्तावेजको रूपमा संकलन गरिनु आवश्यक: डा योगेस खाती

खरसाङ: गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा मासिक रूपमा आयोजना गरिने साहित्यिक कार्यक्रम ‘सुनौं सुनाऔं’ लामो समयको अन्तरालपछि आजदेखि पुन: शुरु भएको छ। पाद्री गङ्गाप्रसाद प्रधानको १७४औं जन्म जयन्ती समारोहको अवसरमा नै गोर्खा जनपुस्ताकालय खरसाङको पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भएको छ। गोर्खा जनपुस्ताकालय खरसाङको साहित्यिक उप समितिको आयोजनामा सम्पन्न उक्त सुनौं सुनाऔं कार्यक्रमलाई संयोजक एंव स्रष्टा सञ्जीव छेत्रीले सञ्चालन गरेका थिए भने पर्यवेक्षकको रूपमा समालोचक एंव खरसाङ महाविद्यालयको प्राध्यापक डा योगेस खाती उपस्थित रहेका थिए। यसपालीको पचासौं प्रकरणमा खरसाङ क्षेत्रका कविहरू क्रमैले द्वारिका छेत्री, उषाकिरण सत्यदर्शी, उदय दुमी, पुरूषोत्तम अधिकारी, बालकृष्ण थामी, सरोजनी देवान, दिल थापा, मिना लामा राई, दिपक ठटाल जलन, सुवास छेत्री भावुक, प्रसन्नता छेत्री, शम्भुप्रसाद राई, गोमा सुब्बा, उज्जवल सेवा, हनोक थापा अादिले कविता, गजल, मुक्तक वाचन गरेका थिए। सबै कविहरूले आफ्नो प्रस्तुति दिएपछि पर्यवेक्षकको रूपमा उपस्थित प्राध्यापक डा योगेस खातीले प्रस्तुत कविताहरूमाथि पर्यवेक्षीय टिप्पणी राखेका थिए। उनले यो कार्यक्रम सुनौं सुनाऔंको स्वर्ण प्रकरण भएकोले आज प्रस्तुत गरिएको कविताहरूलाई दस्तावेजको रूपमा संकलन गरेर राखिएको राम्रो हुने बताएका छन्। उल्लेख्य छ गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा सन् २००७ देखि नै प्रत्येक महिना सुनौं सुनाऔंको साहित्यिक प्रकरण हुने गर्दथ्यो भने पछिबाट यसलाई स्रष्टा सिर्जना र संवाद नाम दिएर मासिक रूपमा साहित्यिक गोष्ठीसितै स्रष्टासित अन्तर्क्रिया पनि हुने गर्दथ्यो।
२०१९ देखि साथै कोविडकालमा यो बन्द भएको थियो भने आजदेखि पुन: शुरु गरिएको छ।

उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव विनोद रसाइलीले अब सुनौं सुनाऔंको प्रकरण मासिक रूपमा प्रत्येक महिनाको अन्तिम सातामा आयोजना गरिने र यसको उत्तरदायित्व पुस्तकालयको साहित्यिक उप समितिलाई दिइएको जानकारी गराएका छन्। उनले उक्त प्रकरणहरूमा सबैलाई उपस्थित भएर कविता वाचनको लागि निवेदन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement