पाद्री गङ्गाप्रसाद प्रधानको विषयमा गहिरो शोध गरिनु आवश्यक : ब्रिगेन गुरुङ
खरसाङ: खरसाङमा अग्रणी गोर्खा भाषा प्रवर्तक पाद्री गङ्गाप्रसाद प्रधानको १७४औं जन्म जयन्ती समारोह सम्पन्न भएको छ। गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा डा पारसमणि प्रधान प्रेक्षागृहमा अग्रणी गोर्खे भाषा प्रवर्तक, गोर्खे खबर कागत् समाचार पत्रको सम्पादक, आदि पत्रकार, अनुवादक पाद्री गङ्गाप्रसाद प्रधानको १७४औं जन्म जयन्ती पालन गरिएको छ। उक्त समारोहको अध्यक्षता पुस्तकालयको अध्यक्ष रबीनकुमार प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ साहित्यकार पूर्ण गुरुङ निरुपम, प्राध्यापक डा योगेस खाती, वरिष्ठ समाजसेवी तिलक शर्मा, वरिष्ठ नाट्य कलाकार बिनोदप्रकाश शर्मा उपस्थित रहेका थिए। अतिथिहरूको बाहुलीबाट पाद्री गङ्गाप्रसाद प्रधानको तस्वीरमा खदार्पणसहित धुप दिप प्रज्वलन गरी थालिएको कार्यक्रममा स्वागत सम्भाषण पुस्ताकालयको मूल सचिव विनोद रसाइलीले राखेका थिए। गोमा सुब्बाद्वारा सञ्चालित उक्त कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधानको जीवनी र योगदान विषयमा राजीव सुब्बाले सम्भाषण राखेका थिए। कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधानद्वारा लिखित गीत हिमालयन फ्री चर्चको युवाहरूले प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमिसल्याण्ड स्कूलका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए। यस अवसरमा पास्टर अभय मनेनद्वारा कविता पठन गरिएको थियो। यस कार्यक्रममा प्रमुख अतिथिको सम्भाषणमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले पाद्री गङ्गाप्रसाद प्रधानको जीवनी, योगदान र विषय गहिरो र ठूलो भएकोले यसमाथि शोध गरिन आवश्यक रहेको बताएका छन्। उनले खरसाङमा पाद्री गङ्गाप्रसाद प्रधानको सालिग स्थापना भएर एकदम राम्रो भएको र भविष्यमा अन्य स्थानहरूमा पनि स्थापना हुने आशा व्यक्त गरेका छन्। कार्यक्रममा अध्यक्षीय सम्भाषण पुस्ताकालयको वर्तमान सभापति रवीनकुमार प्रधानले राखेका थिए भने धन्यवाद ज्ञापन प्रितम छेत्रीले राखेका थिए। यस कार्यक्रमको पूर्वार्ध्दमा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको पाद्री गङ्गाप्रसाद प्रधानको सालिगमा श्रध्दाञ्जली कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त श्रध्दाञ्जली कार्यक्रम अन्तर्गत पाद्रीको सालिगमा पुस्तकालयको अध्यक्ष रबीनकुमार प्रधानको बाहुलीबाट माल्यार्पण गरी श्रध्दाञ्जली अर्पण गरिएको थियो भने उपस्थित सबैले श्रध्दाञ्जली अर्पण गरेका थिए। खरसाङमा सम्पन्न पाद्री गङ्गाप्रसाद प्रधानको १७४औं जन्म जयन्ती समारोह विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पुस्तकालयको सचिव विनोद रसाइलीले विस्तृत रुपमा जानकारी गराएका छन्।









