नेपाली भाषी समाजमा पादरी गंगाप्रसाद प्रधानको योगदानलाई उनको जन्मजयन्तीमा स्मरण गर्दा

unnamed

पादरी गंगाप्रसाद प्रधानको जन्म ४ जुलाई १८५१ मा पिता रूपनारायण प्रधान र माता राजमति देवी बाट काठमाडौंमा भएको थियो। उनको जन्म एक हिन्दू नेवार परिवारमा भएको थियो,  उनको जन्मनाम नर्सीहनारायण प्रधान रहेको हुन्छ। पादरी गंगाप्रसाद प्रधानको आमाको मृत्यु उनी सानो छँदा नै भएको हुन्छ त्यसकारणले गर्दा उनलाई उनको परिवारले आमा टोक्ने भनेर मल्यहा( एकप्रकारको लोदर) को उपाधि दिएको हुन्छ। पादरी गंगाप्रसाद प्रधान जन्मिएको समय नेपालमा राणा शासन रहेको हुन्छ भने भारतमा अङ्ग्रेजहरूको साशन रहेको हुन्छ। त्यस समय नेपालका धेरै मानिसहरू आफ्नो पेट पाल्न र रोजगारको सिलसिलामा भारत देश प्रवेश गर्दै थिए विशेष गरी दार्जीलिङमा त्यस समय अंग्रेज सरकारहरूले दार्जीलिङको वन जंगल फाडी चियाको बोट लगाउने कार्य गर्दै थिएl

त्यसको निम्ति अंग्रेज सरकारहरूलाई श्रमिक चाहिएको हुनाले उनीहरूले नेपालतिरबाट धेरै मानिसहरूलाई फकाएर फुसल्याएर ल्याउने गर्थिये, र त्यस समय चियाको बोटमा पैसा फल्छ भन्ने कुराहरूको प्रचारप्रसार गर्दै अंग्रेजहरूले त्यस समयको अशिक्षित, सोझा साझा नेपालीहरुलाई श्रमिक बनाउनको निम्ति भारततिर को चिया खेती शुरु हुँदै गरेको दार्जीलिङतिर ल्याउने काम गर्दै थिए। त्यही सिलसिलामा सन् १८६१ तिर  गंगाप्रसाद प्रधान र उनको स परिवार पनि रोजगारको सिलसिलामा दार्जीलिङ तिर बसाई सरे। उनीहरू काठमाडौंदेखि दार्जीलिङतिर बसाई सर्ने क्रममा अहिलेको जस्तो यातायातको सुविधा नभएको हुनाले उनीहरूको परिवार पैदल हिँडेर दार्जीलिङ आएका थिए, त्यस समय गंगाप्रसाद प्रधानको उमेर कलिलो भएको हुनाले त्यो कलिलो बालकलाई यति टाढा हिँडेर आउन पर्दा कति कष्टकर भयो होला त्यही माथि घर परिवारमा मुल्याहाको उपाधि पाएको हुनाले उनी आफ्नो परिवारमा त्यसै पनि अवहेलित थिए। उनको परिवार १४ दिनको हिडाइपछि बल्ल  दार्जीलिङ आइपुगेका थिए। गंगाप्रसाद प्रधानको परिवार दार्जीलिङ आउन भन्दा अघि गंगाप्रसाद प्रधानका दाई दार्जीलिङको गिंग कमान आएका थिए त्यहाँ उनले श्रमिकहरुको देखरेख र हिसाब किताबको काम गर्ने गर्थिये पछि उनले आफ्नो भाई गंगाप्रसाद प्रधान लगायत सम्पूर्ण परिवारलाई दार्जीलिङ तर्फ ल्याउने काम गरे। गंगाप्रसाद प्रधान पहिलो चोटी दार्जीलिङ आएको समय २९ मई १८६१ रहेको थियो। गंगाप्रसाद प्रधानको परिवार पहिलो चोटी दार्जीलिङ आएपछि उनीहरू पहिले दार्जीलिङको भोटे बस्तीको फेद पर्ने र लेबुङ नजिक पर्ने नेवार गाउँ मा बसेका थिए पछि उनीहरू त्यही ठाउँ देखि केही टाढामा पर्ने गिंग कमानमा बसाई सरे। त्यही कमानमा उनीहरूले आफ्नो रोजी रोटी को निम्ति काम गर्न थाले। फेरि त्यसै त आफ्नो परिवारमा गंगाप्रसाद प्रधान मुल्यहा को उपाधि पाएर अवहेलित भएको समयमा गंगाप्रसाद प्रधानको बाबुले कान्छी आमा ल्याए र ती कान्छी आमाले उनलाई धेरै प्रताडना दिने गर्थीये। त्यस कारणले गर्दा गंगाप्रसाद प्रधानको बाल्यकाल र किशोरावस्था खुबै कष्टकर रूपले बित्यो। गंगाप्रसाद दार्जीलिङ आएपछि उनले गिंग कमानको कारखानाको निम्ती कोइला बोक्ने काम गर्नुपरेको थियो। १८ वर्षको उमेर सम्म उनले स्कूलको मुख देखेका थिएनन् र उनले त्यस समय सम्म एक अक्षर पनि पढ्न पाएको थिएनन्। आजको समयमा हाम्रो नानीहरू ४- ५ वर्ष पुगेकाहरुले पनि अक्षर ज्ञान सिकीसकेका हुन्छन्, तर गंगाप्रसादले त्यो सुविधा पाएनन्। फेरि त्यस समय शिक्षाको प्रचार प्रसार हाम्रो समाजमा नभएको कारणले गर्दा पनि दार्जीलिङका अधिकांस मानिसहरू अशिक्षित नै थिए। गंगाप्रसादको जीवन त्यसरी नै चल्दै थियो सानी आमाको हेपाहा प्रवृत्ति र उनको अरण खटनमा उनको जीवन चल्दै थियो। एक दिन गिंग कमानमा स्कटिश मिसिनरीका एक पादरी म्याकफार्लेन ले आएर एउटा सानो स्कूल खोलेका थिए त्यही समय पादरी गंगाप्रसाद प्रधान त्यही गिंग कमानमा कोइला बोक्ने काम गर्दै थिए र एक दिन केही बाध्यतावस उनले कोइला बोक्दा सधैं हेरी कम कोइला बोक्न सकेका थिए उनले त्यसदिन कम कोइला बोक्न सकेको कारणले गर्दा उनको रोज त्यस दिन काटियो त्यही कुराको झोकमा उनले आफूले कोइला बोक्ने डोकोलाई मारक मुरुक पारेर त्यस डोकोलाई बाङबुङ पारेर अब उप्रान्त कोइला बोक्ने काम नगर्ने निर्णय लिए र पादरी म्याकफार्लेनले गिंग कमानमा खोलेको स्कूलमा भर्ना हुने र अक्षर ज्ञान लिने निर्णय लिए।

पादरी गंगाप्रसाद प्रधान विश्व नेपाली समुदायका हुन्। यसैले उनलाई विश्व भरको नेपाली समुदायले आदर र उनको योगदानको धेरै कदर गर्नुपर्छ

गंगाप्रसाद प्रधान स्कूल भर्ना भएको दिन संयोगवश ४ जुलाई १८७० रहेको थियो अर्थात उनले आफ्नो जन्मदिनको दिन जुन दिन उनी ठ्याराक्कै १९ वर्ष पुगेका थिए त्यही दिन उनी स्कूल भर्ना भएका थिए। यस कुराबाट यो पनि हामी बुझ्न सक्छौ कि पढ्ने लेख्नेको कुनै उमेर हुँदैन भनेर यदि गंगाप्रसाद प्रधानले त्यस समय आफ्नो उमेर हेरेर स्कूल पढ्न लाज मानेको भए आज हामीसित पादरी गंगाप्रसाद र उनको योगदान हुँदैन थियो होला तर आज उनले ढिलै भएपनि पढाइ शुरु गरेपछि आज पादरी गंगाप्रसाद प्रधान र उनको योगदान हामीसित रहेको छ। यस्ता उदहारणहरु हाम्रो समाजमा धेरै छन् जसले ढिलो उमेरमा आफ्नो पढाईको शुरुवात गरेर पछि धेरै ख्याति आर्जन गरेका मानिसहरू हाम्रो समाजमा धेरै छन्, जस्तै स्वामी प्रपन्नाचार्य जसले ३० वर्षको उमेरमा अक्षर ज्ञान लिएर पछि संस्कृतमा विद्यावारिधि सम्मको अध्ययन गरे र समाजमा ख्याति कमाए। यस्तै ढिलो पढेर नेपाली समाजमा ठूलो योगदान पुर्याउने व्यक्तित्वहरूमा हामी पादरी गंगाप्रसाद प्रधान पनि पाउने गर्दछौ। त्यस समय गंगाप्रसाद प्रधान स्कूलमा भर्ना भएपछि एक महिना जति त उनले मज्जाले पढिसकेका थिए, तर जस्तो गंगाप्रसाद प्रधान स्कूल जान थाले त्यस्तै उनको सानी आमाले घरमा धेरै कचकच गर्न थाले किनकी यत्रो ठूलो लाठे भएको केटो कमाउने बेलामा स्कूल गएको कुरा उनको सानी आमालाई ठ्याक्कै मनपरेन फेरि स्कूल जानको निम्ती खाता किताब चाहिने हुनाले र खाता किताब किन्नको निम्ति पैसा लाग्ने हुनाले सानी आमाले गंगाप्रसादलाई पढाउनको निम्ति खर्च गर्नु एकदम मन पराएनन्। त्यसपछि गंगाप्रसाद प्रधानको सानी आमाले उनलाई स्कूल जानको निम्ति मनाही गरेपछि उनको स्कूल जान बन्द भयो, त्यही समय गंगाप्रसाद स्कूल नआएको देख्दा पादरी म्याकफार्लेन चिन्तित बने र पादरी म्याकफार्लेन गंगाप्रसादलाई खोज्दै खोज्दै गिंग कमान स्थित उनको घर पुगे र घरका मानिसहरूलाई गंगाप्रसाद बारे सोधे त्यस समय घरका हरुले गंगाप्रसाद खरसाङ गएको छ भनेर म्याकफार्लेनलाई ढाँट्ने काम गरे। त्यस समय गंगाप्रसादको घरका हरुले पादरी म्याकफार्लेन लाई यति सम्म भने की “अहिले सम्म त कोइला बोकेर आफूलाई पालिरहेका छ स्कूल गएपछि यसलाई कसले पाल्छ ” भनेर भने र म्याकफार्लेन ले यति सुनेपछि गंगाप्रसादको परिवारसित यतिसम्म शर्त राखे की” यदि गंगाप्रसाद लाई स्कूल पठाए उनले अर्थात् म्याकफार्लेनले नै बरु खोराकीको रूपमा ४ रुपियाँ पैसा दिने शर्त राखे त्यस समयको ४ रुपियाँ अहिलेको भा रु १४००० जति होला र त्यही म्याकफार्लेन को सर्तमा गंगाप्रसाद प्रधान स्कूल जान पाए। त्यसपछि फेरि २ अक्टोबर सन् १८७० मा स्कूल जाने मौका पाए। स्कूल पढ्दा पनि उनले पढाएको पाठहरू छिटो टिप्न सक्ने थिए र पढ्नमा उनी एक असल विद्यार्थी थिए।त्यसपछि गंगाप्रसादले आफ्नो शिक्षा आर्जन गर्दै नै थिए र आफूले शिक्षा आर्जन गरेको ९ महिना पश्च्यात २० जुलाई सन् १८७१ को दिन शिक्षकको नियुक्ति पाए। गंगाप्रसाद प्रधानले शिक्षक नियुक्ति पाउनमा पनि कारणहरू छ र ती कारणहरू हुन् एउटा त उनी एक दक्ष विद्यार्थी थिए र छोटो समयमा नै उनले धेरै कुराहरु सिक्नसके र धेरै कुराहरु उनले सिक्न सकेको हुनाले उनलाई धेरै कुराहरुको ज्ञान थियो र धेरै कुराहरु ज्ञान भएको मानिस असल शिक्षक हुनसक्छ भन्ने कुरा पादरी म्याकफार्लेन थाहा थियो होला त्यसैले नै उनले गंगाप्रसाद लाई शिक्षकको रूपमा नियुक्ति दिए अर्को कुरा जुन कक्षाको निम्ती गंगाप्रसादलाई पादरी म्याकफार्लेनले नियुक्ति दिए त्यस कक्षामा एउटा शिक्षक थिए त्यस शिक्षक ले एक दिन खाजा खान जान्छु भनी स्कूलबाट गएछ त्यसपछि त्यो शिक्षक त्यस स्कूलमा कहिले आएनन्l  त्यसको बदलामा पादरी म्याकफार्लेन का होनहार विद्यार्थी गंगाप्रसाद लाई नै त्यस कक्षा को शिक्षक नियुक्त गरिदिए किनकी गंगाप्रसादले छोटो समयावधिमा नै धेरै कुराहरू सिकिसकेका थिए त्यसैले उनलाई त्यस कक्षाको निम्ति शिक्षक नियुक्ति गरिदिए। शिक्षक नियुक्ति भएपछि उनको तलब पनि ४ रुपियाँ देखि ६ रुपियाँमा बढ्यो। तर शिक्षक नियुक्त हुनुभन्दा अघि उनको विद्यार्थी जीवन धेरै कष्टकार थियो किनकी पहिले म्याकफार्लेनले गिंग कमानमा शुरु गरेको स्कूल उनले आफ्नो वासस्थान लखनगार ( हाल लोचनगर) दार्जीलिङमा सारे त्यस ठाउँ उनको गिंग कमानदेखि धेरै टाढा पर्ने गर्थियो, त्यही माथि बिहानको ३ बजे खाना खाएपछि एकैचोटी बेलुकीको समयमा मात्रै खाना खान पाइने हुँदा फेरि त्यति धेरै हिड्नु पर्ने हुँदा भोकले र थकाइले उनलाई धेरै गार्हो पर्ने हुन्थियो तरै पनि अघिको तीतो पछिको गुलियो भने झै पछि यति दुःख गरी शिक्षा आर्जन गरेको हुनाले उनलाई धेरै लाभ नै भयो। कुनै समय गंगाप्रसाद प्रधानको सौता आमाले गंगाप्रसाद लाई स्कूल जान रोक्नको निम्ति “पढी गुनी के काम हलो जोती खाई माम” भन्ने उखानको प्रयोग गर्दै गंगाप्रसादलाई झपारेको थिए तर आज त्यस उखानलाई गलत प्रमाणित गर्दै गंगाप्रसाद प्रधान ले पढेर, गुनेर माम खाने बाटो नै पढाइ मार्फत पाए। पादरी म्याकफार्लेन बस्ने त्यस ठाँउ जहाँ गंगाप्रसाद पनि शिक्षा आर्जन गर्न आए त्यस ठाउँलाई आहिले लोचनगर भनिन्छ र त्यस ठाउँ दार्जीलिङको मटर स्ट्यान्ड देखि केही तल पर्ने गर्दछ र त्यही ठाउँमा नेपाली साहित्यको शिखर पुरुष मानिने स्वर्गीय डाक्टर इन्द्रबहादुर राईको पनि निवासस्थान रहेको छ। त्यस ठाउँलाई पहिले लखनगार भनेर चिनिन्थ्यो र त्यस ठाउँलाई किन लखनगार भनियो भन्दा त्यस समय अहिलेको दार्जीलिङ स्थित लालढिकीको मुहानबाट पानी आएर हाल आजको बस स्ट्यान्ड नजिक पोखरी थियो रे त्यही पोखरीमा त्यो मुहान बाट आएको पानि जम्मा हुने गर्थ्यो रे त्यसैले म्याखफारलेनको स्कटिश भाषामा लखनगार भनिएको पोखरी भएको ठाउँ थिएछ र त्यस ठाउँलाई स्कटिश भाषी म्याकफार्लेनले लखनगार नाम दिए र  आजको हाल बस स्ट्यान्ड मुनिको गाउँलाई लोचनगर भनेर चिनिन्छ जुन लोचनगर शब्द लखनगार शब्दको अपभ्रंश नाम हो। त्यस समय त्यस ठाउँमा पोखरी थियो तर अहिले त्यस ठाउँमा गयो भने यहाँ पोखरी थियो र? भन्ने हामीलाई हुन्छ किनकी अहिले त त्यस ठाउँमा धेरै बहुतले इमारतहरु भएको कारणले गर्दा त्यो ठाउँ धेरै साँघुरिएको छ र त्यस ठाउँमा कुनै समय पोखरी थियो भन्ने कुरा चाहिँ हामीलाई कल्पना जस्तो लाग्ने गर्दछ।

गंगाप्रसाद प्रधानको जीवन समय अनुसार परिवर्तन हुँदै थियो पहिले उनले कमानमा कोइला बोक्ने काम गरे, त्यसपछि उनलाई पढ्न मनलागेको भनी पादरी म्याकफार्लेनको स्कूलमा भर्ना भई अक्षर ज्ञान सिके, अक्षर ज्ञान संगैमा उनले अन्य धेरै कुराहरु पनि त्यस स्कूलमा सिक्दै उनी पछि त्यही स्कूलको शिक्षक बने पहले कमानमा कोइला बोकी हिड्ने काम गर्ने मान्छे, कालो अक्षर भैंसी बराबर सम्झिने मान्छे, गाउँमा घर खर्च अलि धेर जुटाउनको निम्ति खोप्पी खेल्ने मान्छे र त्यही खोप्पि राम्रो खेल्ने हुँदा उनलाई खोप्पीको जम्दार भनेर साथीहरुले उपाधि सम्म दिएका थिए तर पछि अक्षर ज्ञान सिकेपछि र अन्य धेरै कुराहरु पादरी म्याक्फार्लेनको स्कूलमा सिकेपछि उनको जीवनमा धेरै असल परिवर्तनहरू आउँदैथियो। त्यही परिवर्तन हुँदै गरेको गंगाप्रसादको जीवनमा अर्को ठूलो परिवर्तन आउँदैथियो र त्यो परिवर्तन के थियो भने पादरी म्याक्फार्लेनको संसर्गमा गंगाप्रसाद प्रधान आएपछि पादरी म्याक्फार्लेनको प्रभाव धेरै  गंगा प्रसादमा पर्न थाल्यो। पादरी म्याकफार्लेन एक इशाई मिसिनरीका वरिष्ट व्यक्तित्व थिए, यस सँगै उनी इशाई धर्मका कर्मठ अनुयायी थिए त्यसको प्रभाव गंगाप्रसाद प्रधानमा पनि हुनपुग्यो र गंगाप्रसादले पनि पादरी म्याकफार्लेनबाट प्रभावित भएर इशाईहरूको पवित्र धर्मपुस्तक अध्यन गर्न थाले। म्याकफरलेन सित रहँदा बस्दा गंगाप्रसादले प्रभु इशुलाई धेरै जान्न र बुझ्न पाए। पादरी म्याकफार्लेन एक इशाई धर्मका प्रचारक अथवा सु समाचार प्रचारक पनि थिए र हप्तामा एक दिन बाइबल बारे र ख्रीष्टिय धर्मको ज्ञान पनि उनले अरूलाई सिकाउने गर्थिये र गंगाप्रसाद प्रधानले पनि पादरी म्याकफार्लेनद्वारा संचालित  बाइबल र ख्रीष्टिय धर्मको ज्ञान दिने कक्षामा भाग लिने गर्थिये, म्याकफार्लेनको संसर्गमा रहँदा बस्दा र उनीबाट बाइबल र इशु ख्रीष्ट बारे धेरै कुराहरु सुन्दा गंगाप्रसाद प्रधान इशाई धर्मप्रति आकर्षित हुँदै गइरहेको थियो। फेरि अर्को के भयो भन्दा एक हिन्दी इशाई प्रचारक एक दिन पर्चा बाँड्दै दार्जीलिङ आएका थिए र गंगाप्रसाद प्रधान लाई पनि त्यस हिन्दी प्रचारकले हातमा एउटा पर्चा थमाई दिए र त्यस पर्चामा इशु लेखिएको थियो त्यही इशु शब्दले गंगाप्रसाद आकर्षित भए त्यस समय गंगाप्रसाद लाई इशु शब्द को उच्चारण उनका गुरु म्याकफार्लेनले गरिरहेको थाहा थियो र इशु बारे उनको गुरुले कुरा गरेको पनि थाहा थियो र यो इशु चाहिँ को रहेछ भनेर गंगाप्रसादले अनुसन्धान गरे र इशु बारे धेरै अध्यन गरे त्यसपछि उनले इशु बारे धेरै जानेपछि उनी इशाई धर्मप्रति आकर्षित हुँदै गए र अन्त्यमा इशाई बन्ने निर्णय लिए। त्यसपछि सन् जनवरी २४, १८७५ मा भारतको इलाहाबाद हाल प्रयाग मा हिँडेर गएर गंगाप्रसाद प्रधानले बप्तिस्मा लिए अनि एक समर्पित इशाई बने। त्यस समय दार्जीलिङ पहाडी अञ्चलमा बप्तिस्मा दिने कुनै ठाउँ थिएन र कहीं ठाउँ नभएको हुनाले उनले अल्लाहबादमा हाल प्रयागमा गएर बप्तिस्मा लिए। नेपाली समुदायमा गंगाप्रसाद प्रधान इशाई हुने दोस्रो व्यक्ति थिए र नेपाली समुदायमा इशाई हुने पहिलो व्यक्ति चाहिँ भीमदल देवान रहेको थियो। इशाई भएपछि केही समय बिहारमा शिक्षा आर्जन गरी उनी दार्जीलिङ तर्फ नै फर्किए। दार्जीलिङमा फर्किदा उनी आफ्नो घर परिवारबाट बहिष्कृत भएका थिए। घर परिवार र समाजबाट उनी बहिष्कृत भएपछि उनले उनको गुरु पादरी म्याक्फार्लेनको निर्देश अनुसार इशाई धर्म सम्बन्धित कार्य गर्न थाले। आफ्नो गुरुको आदेश अनुसार विभिन्न ख्रीष्टिय सुसमाचार युक्त हिन्दी पर्चाहरुको अनुवाद उनले गर्न तर्फ लागे। उनले त्यसपछि विवाह एक नन् (अर्थात् रोमन क्याथोलिक समुदायको एक स्त्री धर्मगुरु) अध्यन गर्दै गरेको एक युवती एलिजाबेथ राई सित विवाह गरे तर यस कुरामा धेरै विवाद रहेको छ जस्तै यहाँ धेरै मानिसहरूको मत रहेको छ कि गंगाप्रसाद प्रधान एक प्रोटेस्टेन्ट इशाई थिए तर एलिजाबेथ राई एक रोमन क्याथोलिक नन् रहेको हुनाले र क्याथोलिक ननले विवाह गर्न नपाइने हुनाले कसरी उनले गंगाप्रसादसित विवाह गरे भन्ने एउटा प्रश्न उठ्ने गरेको छ, तर यसमा यो कुराहरू पनि हुनसक्छ जस्तै पादरी गंगाप्रसाद प्रधान एक प्रोटेस्टेन्ट ख्रीष्टियन भएको कारणले गर्दा प्रोटेस्टेन्ट ख्रीष्टियनमा त्यहाँको धर्म गुरुहरूले विवाह गर्न पाउँछन् तर यता रोमन क्याथोलिकका धर्म गुरुहरुले विवाह गर्न पाउँदैनन् त्यही कारणले पादरी गंगाप्रसाद एक प्रोटेस्टेन्ट इशाईहरुको धर्मगुरु भएको हुनाले उनको धर्म तर्फबाट विवाह गर्न पाउन सक्ने भएको हुनाले फेरि एलिजाबेथ राई पनि त्यस बेलासम्म अध्यन गर्दै गरेको नन् थिए उनी पुरै नन् भएको थिएनन् तर नन् हुने प्रक्रियाहरू उनले अध्यन गर्दै थिए र यता पादरी गंगाप्रसाद प्रधान एक प्रोटेस्टेन्ट ख्रीष्टियन भएको र त्यहाँ विवाह गर्न केही छेक थुन नभएको हुनाले र उता एलिजाबेथ राई पनि पुरै नन् नभएको तर नन् हुने प्रक्रिया अध्यन मात्रै गर्दै गरेको हुनाले पनि उनीहरूको विवाहमा केहि अड्चन नआई विवाह भएको हामी मान्न सक्छौ, उनीहरूको विवाहमा त्यस समय अड्चन आउन सक्थ्यो यदि एलिजाबेथ राईले पुरै नन् हुने प्रक्रिया अध्यन गरेर नन् भएको भए उनले विवाह गर्न पाउँदैन थिए तर एलिजाबेथ राई नन् बन्ने प्रक्रिया अध्यन गर्दै गरेको मात्रै भएको हुनाले र हुनसक्छ उनले त्यो नन् बन्ने प्रक्रियाको अध्यन उनले गंगाप्रसाद सित विवाह गरेपछि त्यसलाई छोडेको हुनसक्छ र त्यसकारणले गर्दा यहाँ त्यस्तो अड्चन आउने प्रश्न आउँदैन। तर यो एउटा खोज को विषय रहेको छ किनकी अधिकांस नेपाली लेखक र समालोचक हरुले पादरी गंगाप्रसाद प्रधानको विवाह एउटी रोमन क्याथोलिक नन् बन्दै गरेको एलिजाबेथ राईसित नै भएको हो भन्ने कुरा किटान गरेर लेख्न सकिरहेका छैनन्। पादरी गंगाप्रसाद प्रधान को ६ जाना छोरी र २ जाना छोराहरू थिए। गंगाप्रसाद प्रधान धार्मिक र इमान्दार ख्रीष्टियन भएको हुनाले अगस्त महिनाको १९०१ सालमा उनी पादरी नियुक्त भए र उनी हाल अहिले दार्जीलिङको सन्त कोलम्बस गिर्जाघर जुन गिर्जाघर दार्जीलिङको रेलवे स्टेशन को ठीक माथि रहेको छ त्यही गिर्जाघरको प्रथम नेपाली पादरी नियुक्त भए र नेपाली समुदायमा उनले सबैभनदा पहिलो पादरी बन्ने मौका पाए। यसकारणले गर्दै गंगाप्रसाद प्रधानलाई हामीले पादरी गंगाप्रसाद प्रधान भनेर चिन्ने गर्दछौ। तर अहिले इशाई धर्मगुरुहरुलाई विशेष गरी नेपाली इशाई धर्मगुरु हरुलाई पादरी भन्ने चलन त्यत्ति रहेको छैन त्यस पादरी शब्दको ठाउँ पास्टर, फादर,पल्ली पुरोहित जस्ता शब्दहरूले लिसकेको छ।

गंगाप्रसाद प्रधानले गोर्खे खबर कागत सन् १९०१ मा निकाले र उनले उक्त खबर कागत सन् १९३२ सम्म चलाए यो गोर्खे खबर कागत नेपाली भाषी समुदायमा पहिलो खबर कागत भनेर मानिने गरिन्छ।जुन समय पादरी गंगाप्रसाद प्रधानले गोर्खे खबर कागतको शुरु गरे त्यस समय नेपालमासम्म पनि खबर कागज निकाल्ने कार्य शुरु  भएको थिएन। यसरी नै यस खबर कागज मासिक रूपमा प्रकाशित हुने गर्थ्यो। तर गोर्खे खबर कागत माथि धेरै आलोचकहरूले यसको भाषामाथि आलोचना गरे यसको भाषा अशुद्ध रहेको कुरा धेरै आलोचकहरूले राखे तर यसमा गंगाप्रसाद प्रधानले त्यही भाषाको प्रयोग गरे जुन भाषा त्यस समय दार्जीलिङको मानिसहरूको जन जिब्रोमा रहेको थियो, उनीहरूले बुझ्ने अनुसार को भाषाको प्रयोग उनले आफ्नो खबर कागत मा प्रयोग गरे। यस सँगै जुन भाषालाई त्यस समय शुद्ध मानिने गरिन्थियो त्यो नेपाली भाषा संस्कृत मिश्रित नेपाली भाषा रहेको थियो र त्यस प्रकारको संस्कृत मिश्रित नेपाली भाषालाई काशी भाषे बोली भनेर पादरी गंगाप्रसाद प्रधान ले नाम दिए। यस सँगै गोर्खे खबर कागत लाई कतिपय आलोचकहरूले इशाई धर्म प्रचार गर्नको निम्ती मात्रै निकालिएको भनेर आलोचना गरे तर त्यस्तो थिएन किनकि त्यस गोर्खे खबर कागतमा विभिन्न ठाउँहरूमा भएको खबरहरु आउने गरिन्थियो, इशाई धर्म बाहेक अन्य खबरहरु पनि त्यस खबर कागतमा आउने गर्थ्यो र यदि पादरी गंगाप्रसाद प्रधानको उद्धेश्य इशाई धर्म प्रचार गर्नको निम्ती कुनै खबर कागत निकालिने भएको भए त्यस खबर कागतको नाम गोर्खे खबर कागत नराखेर अन्य ख्रीष्टिय धर्म सम्बन्धित नाम राखेर त्यहाँ मात्रै ख्रीष्टियन धर्म सम्बन्धित समाचारहरु लेखिनु पर्ने थियो तर त्यसो भएन त्यस खबर कागतमा केही ख्रीष्टियन धर्म सम्बन्धित समाचारहरु भएपनि अन्य संसार र दार्जीलिङ वरीपरी भएको घटनाहरू बारे पनि समाचारहरु लेखिएको हुन्थियो यससँगै ख्रीष्टियन बाहेक अन्य धर्मको बारे पनि त्यस खबर कागतमा लेखिने गरिन्थियो। यस सँगै केही साहित्यिक कृतिहरूले पनि उक्त खबर कागतमा स्थान पाए।

पादरी गंगाप्रसाद प्रधानले पहिलो चोटी बाइबल नेपालीमा पनि अनुवाद गरे। हुन त उनी भन्दा अघि पनि नेपाली बाइबलको अनुवाद गर्ने कार्य भएको थियो तर त्यसको भाषा नेपाली जनजिब्रो अनुसार नभएको हुनाले ती बाइबलको प्रचारप्रसार नेपाली समाजमा त्यत्ति हुनसकेन तर पादरी गंगाप्रसाद  प्रधानद्वारा लिखित नेपाली बाइबल त्यस समय बोलिने नेपाली जन जिब्रोअनुसार भएको हुनाले यस बाइबलले पहिलो नेपाली बाइबलको मान्यता पायो र प्रचलित भयो। विश्वमा सबैभन्दा धेरै प्रचलित र बिक्री भएको किताब नै बाइबल हो र यस्तो विश्वमा सबैभन्दा प्रशिद्ध भएको किताब नेपालीमा अनुवाद पादरी गंगाप्रसाद प्रधानले गरेको हुनाले उनको योगदान यस क्षेत्रमा पनि अतुलनिय रह्यो र नेपाली भाषी समुदायलाई र साहित्यलाई उनको यो कार्यले एउटा ठूलो योगदान पुर्याएको छ। जसरी नेपालीमा रामायण अनुवाद गरेर भानुभक्त आचार्य ले नेपाली समुदायमा प्रशिद्धि पाए किनकी उनले पनि सामान्य जन जिब्रो को भाषामा रामायण अनुवाद गरेर प्रसिद्धी पाए उनीभन्दा अघिका हरुले पनि रामायण नेपालीमा अनुवाद गर्न खोजें तर उनीहरूले जनजिब्रो अनुसार अनुवाद नगरेको हुनाले उनीहरूले त्यत्ति प्रशिद्धि कमाउन सकेन तर जनजिब्रो अनुसार उनले अनुवाद गरेको हुनाले भानुभक्तले पनि नेपाली साहित्यमा एकदमै धेरै प्रसिद्धी पाए, त्यसरी नै पादरी गंगाप्रसाद प्रधानले पनि दार्जीलिङ्गे नेपाली जन जिब्रो अनुसार बाइबल अनुवाद गरेको हुनाले उनले पनि प्रशिद्धि पाए। त्यसैले जनजिब्रोको महत्व कुनै पनि समुदायको निम्ति एकदमै ठूलो रहेको छ।

यससँगै पादरी गंगाप्रसाद भन्दा अघिको समयमा दार्जीलिङ भेग तिर नेपाली भाषा बोलिने साधन मात्रै रहेको थियो यस भाषा मार्फत शिक्षा दिने चलन रहेको थिएन त्यस समय शिक्षाको माध्यम हिन्दी रहेको थियो यही कुराको महसुस गरी उनले धेरै नेपाली पाठ्य पुस्तकहरु निकाले, धेरै कथाहरूको अनुवाद नेपालीमा उनले गरे त्यसपछि अन्यले पनि नेपाली भाषालाई आधार बनाएर पाठ्य पुस्तकहरु निकाले तर यसको जग बसाल्ने चाहिँ पादरी गंगाप्रसाद प्रधान नै थिए। यस सँगै उनले उखानहरु माथि पनि कार्य गरे र उखानहरुलाई संकलित गर्ने कार्य गरे। उनले युरोप तिर बाट आउने मिसिनरीका यूरोपीय मानिसहरूलाई नेपाली भाषा सिकाउने कार्य पनि गरे जस् मध्ये पादरी ट्रनबुल मुख्य रहेका छन्।

पादरी गंगाप्रसाद प्रधानले नेपाली भाषी समाजलाई धेरै कुराहरु दिएर गए। उनले धेरै कुराहरुको स्तंभ गाडेर गएका छन् जस्तै उनले नेपाली समाजमा उनीभन्दा पहिले कसैले नगरेको कार्यहरू गरेर गएका छन् जस्तै नेपाली भाषामा पहिलो बाइबल अनुवाद, नेपाली भाषामा पहिलो खबर कागज छाप्ने काम उनले गरे जुन खबर कागजको नाम गोर्खे खबर कागत रहेको थियो र नेपाली भाषामा पहिलो चोटी भारतीय नेपाली समाजमा पाठ्य पुस्तकहरू निकाल्नु यी कुराहरूको श्रेय सबैभन्दा धेरै उनलाई नै दिनुपर्छ। यससँगै नेपाली ख्रीष्टिय गीतहरू निकाल्न पनि उनी पहिलो भए यी गीतहरु नेपालीमा लेख्ने व्यक्ति पनि उनी पहिलो भए उनले लेखेका गीतहरू मध्ये “प्रभु अर्जि सुनिल्यौ” भन्ने गीत सबैभन्दा प्रचलित रहेको छ। आजको दिनमा धेरै ख्रीष्टय गीतहरू गाउने मानिसहरू छन् जस्तै एड्रिन देवान, लिडिया राई, जर्ज सुमन पेगा, सिलाश फिपन, सुक्मित लेप्चा र अन्यहरू तर पादरी गंगाप्रसाद प्रधानले ख्रीष्टिय गीतहरू लेख्नु अघि सबैले हिन्दी गीत र कोयरहरु गाउने गर्थिये यसको निम्ति पनि सम्पूर्ण ख्रीष्टिय जगतले पादरी गंगाप्रसाद प्रधानलाई धन्यवाद दिनुपर्ने हुन्छ। यसरी कालेबुङको साहित्य अध्यन समितिले पादरी गंगाप्रसाद प्रधानको १२५औ जन्मजयन्ती पहिलो चोटी १९७५ मा भव्य रूपमा मनाएको थियो, र आजसम्म पनि ४ जुलाईमा उनको जन्मजयन्ती मनाउने गरिन्छ। पादरी गंगाप्रसाद प्रधानलाई कतिले मात्रै हाम्रो हो भन्ने संकीर्ण विचारधारा राख्छन त कतिले उनीहरूको मात्रै हो भन्ने अर्को खाले संकीर्ण विचारधारा राख्छन् तर पादरी गंगाप्रसाद प्रधान विश्व नेपाली समुदायका हुन्। यसैले उनलाई विश्व भरको नेपाली समुदायले आदर र उनको योगदानको धेरै कदर गर्नुपर्छ। पादरी गंगाप्रसाद प्रधान को मृत्यु सन् १८३२ मा ८० वर्षको उमेरमा भयो।

(लेखक दार्जीलिङका साहित्यिक साथै सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement