बर्लिन: पोर्तुगलका स्टार फरवर्ड क्रिस्टियानो रोनाल्डोको भनाइअनुसार, यूरो कप २०२४ उनको करियरको अन्तिम यूरोपेली च्याम्पियनशीप हुनेछ। विश्वका सबैभन्दा लोकप्रिय फूटबल खेलाड़ीहरूमा एक ३९ वर्षीय रोनाल्डो रेकर्ड छैटौंपल्ट यूरो कपमा खेलिरहेका छन्। उनको टीम पोर्तुगल क्वार्टर फाइनलमा पुगिसकेको छ अनि शुक्रवार फ्रान्सविरुद्ध मैदानमा ओर्लिनेछ। स्लोवेनियाविरुद्ध प्री- क्वार्टर फाइनलमा पेनल्टी शूटआउटमा जीत हासिल गरेपछि रोनाल्डोले भने, यो मेरो अन्तिम यूरो कप हुनेछ अनि यसमा कुनै सन्देह छैन। मलाई यस खेलले सबैथोक दियो। खेललाई लिएर उत्साह, समर्थकहरू, मेरो परिवार र मानिसहरूका म प्रति माया असाधारण रह्यो। रेकर्ड छैटौंपल्ट यस टुर्नामेण्टमा खेल्नु मेरो सौभाग्य रह्यो। अब ट्रफी जित्न सके सुनमा सुगन्ध हुनेछ। रोनाल्डो अन्तर्राष्ट्रिय फूटबलमा सर्वाधिक गोल गर्ने खेलाड़ी हुन्। उनले पोर्तुगलको निम्ति २११ वटा म्याच खेलेर १३० गोल गरिसकेका छन्। उनले यूरो कपमा पनि रेकर्ड १४ गोल गरेका छन्। रोनाल्डोले भने, मेरो मुख्य प्रेरणा नै मानिसहरूलाई खुशी पार्नु हो। प्रशंसकहरू मेरो सबैभन्दा ठूलो उपलब्धि हुन्। म मेरो देश, क्लब र प्रशंसकहरूका निम्ति फूटबल खेल्छु।









