लण्डन: गत च्याम्पियन मार्केटा वोन्द्रोसोवाको खिताब बचाउने अभियान विम्बल्डन टेनिस च्याम्पियनशीपको पहिलो राउण्डमै हारको साथ समाप्त भयो। महिला एकल वर्गमा गत वर्षकी च्याम्पियन चेक रिपब्लिककी २५ वर्षीय वोन्द्रोसोवालाई सालको तेस्रो ग्राण्ड स्ल्याममा गैर वरीयता प्राप्त स्पेनकी जेसिका बोउजास मानेरिओले १ घण्टा ७ मिनटसम्म चलेको म्याचमा सीधा सेटमा ६-४, ६-२-ले पराजित गरिन्। टुर्नामेण्टको महिला एकल वर्गमा यो पहिलो ठूलो उलटफेर हो। जेसिका पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको मुख्य ड्र-मा खेलिरहेकी थिइन् अनि पहिलो म्याचमै गत च्याम्पियनलाई पराजित गरी उनले आफ्नो प्रभाव छोड़िन्। यसबाहेक विम्बल्डनमा १९९४ पछि पहिलोपल्ट गत च्याम्पियन खेलाड़ीले पहिलो राउण्डमै विदा लिनु पऱ्यो। लगभग ३० साल अघि जर्मनीकी महान खेलाड़ी स्टेफी ग्राफले गत विजेताको रूपमा खेल्दै पहिलो राउण्डमा लोरी मेकलीनविरुद्ध हारको सामना गर्नु परेको थियो। वोन्द्रोसोवालाई यसपाली टुर्नामेण्टमा छैटौं वरीयता दिइएको थियो। देब्रे हातकी खेलाड़ी २०१९-मा फ्रेञ्च ओपनमा उपविजेता रहेकी थिइन् अनि ३ साल अघि टोक्यो ओलम्पिकमा पनि रजत पदक विजेता थिइन्। उनले मंगलवार चाहिँ त्यस प्रदर्शनलाई दोहोऱ्याउन सकिनन्।
वोन्द्रोसोवालाई पहिलो राउण्डमै संघर्ष.गरिरहेको देखियो अनि उनले २८ वटा सहज गल्ती गरिन्। म्याच हारेपछि वोन्द्रोसोवालाई निक्कै निराश देखियो अनि जेसिकासँग हात मिलाउँदा उनको अनुहारमा हारको निराशा स्पष्ट झल्किरहेको थियो। जेसिकाले चाहिँ म्याच जितेपछि कोर्टमै उफ्रीपाफ्री गरेर खुशीयाली मनाइन्। वोन्द्रोसोवाले म्याचमा ७ वटा डबल फल्ट गरिन्। जेसिकाले गत च्याम्पियन खेलाड़ीको पाँचपल्ट सर्विस तोड़ेर म्याचलाई एकतर्फी बनाइन्। गत हप्ता आफ्नो करियरको सर्वश्रेष्ठ ऱ्याङकिंगमा पुग्ने स्पेनकी २१ वर्षीय खेलाड़ी जेसिकाले भनिन्, यो मेरो जीवन, मेरो करियर अनि यस खेलको सबैभन्दा महत्त्वपूर्ण क्षणहरूमा एउटा हो। यो आश्चर्यजनक रह्यो। आजको जीतपछि म धेरै खुशी छु। वोन्द्रोसोवाले गत वर्ष विम्बल्डनमा एकाधिक उलटफेर गर्दै खिताब जितेकी थिइन्। उनी ग्रास कोर्टमा खेलिने यस ग्राण्ड स्ल्याममा च्याम्पियन बन्ने पहिलो गैर वरीयता प्राप्त महिला खेलाड़ बनेकी थिइन्। यसपाली पहिलो राउण्डमै हारेर उनको नाममा अझ एउटा रेकर्ड जोड़िन पुग्यो। यसबीच महिला एकलका अन्य म्याचहरूमा नाओमी ओसाकाले विम्बल्डनमा ७ सालमा पहिलो जीत हासिल गरिन् अनि डियाने पेरीलाई पराजित गरी दोस्रो राउण्डमा पुगिन्। जापानकी ओसाकाले रोमाञ्चक म्याचमा पेरीलाई ६-१, १-६, ६-४-ले पराजित गरिन्। उनले गत ५ साल विम्बल्डनमा हिस्सा लिइनन्। तीनपल्टकी ग्राण्ड स्ल्याम विजेता ओसाका २०१९-मा शुरुवाती राउण्डमा हारपछि पहिलोपल्ट विम्बल्डनमा खेलिरहेकी छन्। यसरी अमेरिकाकी कोको गौफ र २०२१-को यूएस ओपन विजेता एम्मा राडुकानु पनि म्याच जित्न सफल भइन्।











