गान्तोक: डायरिया की रोकथाम, सफा र ओआरएस से राखें अपना ध्यान’ भन्ने नाराका साथ हिजो नाम्ची जिल्ला अस्पतालका प्रमुख चिकित्सक अधिकारी डा.एसएन अधिकारीले अभियानको शुरूवात गरे। यस अवसरमा शिक्षा विभागका संयुक्त निर्दैशक जीपी शर्मा लगायत विभिन्न विभागका अधिकारी, आशाकर्मी र आम मानिसहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नाम्ची जिल्ला अस्पतालका प्रमुख चिकित्सक डा. एसएन अधिकारीले वर्षभरि नै विशेष गरेर नानीहरूलाई पखाला र निमोनिया रोगले ग्रसित भएको घटना अस्पतालमा आउने गरेको बताए। यो रोग विशेष गरेर ०-५ वर्षसम्मका नानीहरूमा अधिक देखापरेको र यसको रोकथामको निम्ति सबैले ओआरएस र जिङक ट्याबलेटको प्रयोग गर्नुपर्ने सुझाउ दिए। विशेष समयमा स्तनपान, सरसफाइ, सुरक्षित पिउने पानीको प्रयोग र रोटाभाइरस विरुद्धको खोपबाट पनि बाल्यकालमा हुने झाडापखालाबाट हुने मृत्युलाई रोक्न सकिने जानकारी गराए। यस प्रकारको रोगलाई ध्यानमा राख्दै नियन्त्रण गर्ने उद्देश्यले १ जुलाईदेखि अगस्तदेखि ३१ अगस्तसम्म विभिन्न स्थानमा सचेतना कार्यक्रम आयोजना गरिने बताए। उक्त अभियान अन्तर्गत नानीहरूलाई ओआरएस र जिङ्क ट्याबलेट वितरण गरिने र हात धुने तरिकाबारे प्रदर्शन गरिने अवगत गराए। यो कार्यक्रम विशेष गरेर विद्यालयहरूमा आयोजना गरिने योजना रहेको छ।