नशा मुक्त सिक्किम अभियानको शुरू

IMG-20240702-WA0250

सिक्किमलाई नशामुक्त गराउन सबैको जिम्मेवारी बराबर रहेको अध्यक्ष एमएन शेर्पाको भनाइ

गान्तोक: राज्यमा बढदो ड्रग्स सेवनलाई ध्यानमा राख्दै यसलाई नियन्त्रण गर्न साथै ड्रग्समुक्त सिक्किम बनाउने उद्देश्यले आजदेखि नशा मुक्त सिक्किम अभियानको शुरूवात गरेको छ। राज्यको सामाजिक न्याय विभागको पहलमा आज राजधानीस्थित चिन्तन भवनमा आयोजित कार्यक्रमा यस योजनाको अभियान शुरू गरेको हो। यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा मुख्य अतिथिकोरूपमा रहेका थिए भने विशिष्ट अतिथिहरूमा मन्त्री अरूण उप्रेती, सामाजिक न्याय एवम कल्याण विभागकी सल्लाहकार पामिन लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले ड्रग्सको समस्या केवल सिक्किम राज्यमा मात्र नभएर विश्वमा नै भएको बताए। वर्तमान समाजको निम्ति ड्रग्स एक चनौतीको विषय बन्न गएको जानकारी गराउँदै यसलाई राज्य र समाजबाट निर्मूल पार्न समाजमा बसोबासो गर्ने सबैको जिम्मेवारी रहेको जानकारी गराए। विशेष गरेर अहिलेका नानीहरूमा सहनशिलताको कमीको कारणले गर्दा ड्रग्स सेवन साथै आत्महत्या गरिरहेको घटना प्रकाशमा आएको उनको भनाइ रहेको थियो। राज्यका मानिसहरू सबै काम पुलिसको हो र पुलिसले नै गर्नुपर्छ भन्ने धारणा राखेको कारण समाजमा ड्रग्सको मामिलामा वृद्धि भएको उनले किटान गरे। पुलिससँगै राज्यका सम्पूर्ण सचेत नागरिकहरूले यसबारेमा आ-आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गरेमा अवश्य पनि यसलाई नियन्त्रण गर्न सकिने अध्यक्ष शेर्पाले दावी गरे। ड्रग्स नियन्त्रणको निम्ति विभिन्न संगठन, राजनैतिज्ञहरूले पनि अहंम भूमिका निर्वाह गर्नुपर्ने उनले सुझाउ दिएका छन्। यसै क्रममा मन्त्री साम्दुप लेप्चाले कार्यक्रमलाई सम्बोधन गर्दै यो कार्यक्रम विशेष गरेर मुख्यमन्त्री प्रेम सिंह तामाङको दिशा निर्देश बमोजिम आयोजना गरिएको बताए। राज्यका मुख्यमन्त्री तामाङले सिक्किम राज्यलाई ड्रग्समुक्त बनाउनको निम्ति आफ्नो तर्फबाट कोशिष गरिरहेको साथै विभिन्न प्रकारको योजना शुरू गरेको अवगत गराए। मुख्यमन्त्रीको कठोर परिश्रम र प्रतिवद्धताको कारण यसपालीको चुनाउमा एसकेएम पार्टीले ३१ सीट जित्न सफल बनेको दावी गरे। वर्तमान परिपेक्ष्यमा राज्यका धेरै जना किशोर किशोरीहरू नशालु पदार्थको लतमा लागेर आफ्नो जिवनलाई वर्वाद गरिरहेको बताए। सिक्किम राज्यमा ड्रग्स एक डिजास्टरकोरूपमा परिणत हुँदै गएको र यसलाई नियन्त्रण गर्नको निम्ति सबै तह तप्काबाट पहल हुन आवश्यक रहेको जानकारी गराए। सिक्किम राज्यलाई नशा मुक्त बनाउन एक चुनौतीको विषय रहेको र यसलाई फत्ते गर्नको निम्ति राजनीतिज्ञ, विभिन्न संगठन, सरकारी कर्मचारी, पुलिसवल आदिले एक अर्कामा तालमेल राखेर काम गर्न आवश्यक रहेको उनले महसुस गरे। पुलिसले आफ्नो तर्फबाट काम गरिरहेको छ तर आम मानिसहरूबाट पुलिसले भने जस्तो सहयोग नपाएको पनि उनले गुनासो गरे। यदि सबै जना मिलेर पुलिसलाई सही समयमा सूचना दिने गरेको खण्डमा अवश्य पनि सिक्किमलाई ड्रग्समुक्त बनाउन सकिने मन्त्री लेप्चाले सम्भावना व्यक्त गरे। उनले थप जानकारी गराए अनुसार ड्रग्सको धन्दा गर्नेहरू विरूद्ध कठोर कदम उठाउनु पर्ने समयको माग रहेको छ। उनले थप जानकारी गराए अनुसार पुलिसले गरेको कारवाहीमा विधायकगण, मन्त्रीगण र सरकारी अधिकारीहरूले हस्तक्षेप गर्न हुँदैन्। यदि हस्तक्षेप गरेको खण्डमा पुलिसको मनोबलमा कमी आउन सक्ने प्रशस्त सम्भावनाहरू रहेको पनि उनले जानकारी गराए। यस अवसरमा विभागकी सचिव सारिका प्रधान र डाक्टर सतिश रसाईलीले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा राज्यमा ड्रग्सको सेवनकर्ताहरूको बढदो संख्याबारे अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement