खरसाङ: गोर्खा जन पुस्तकालय खरसाङले आगामी ४ जुलाईको दिन पादरी गङ्गाप्रसाद प्रधानको १७४औँ जन्म जयन्ती अनि आदि कवि भानुभक्त आचार्यको २११औँ जन्म जयन्ती पालन गर्ने निश्चित गरेको छ। गोर्खा जनपुस्ताकालय खरसाङको नयाँ कार्यकारिणी समितिको प्रथम कार्यक्रमको रूपमा पालन गरिने पादरी गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती यस वर्ष गोर्खा जन पुस्तकालयको मासिक साहित्यिक शृङ्खला ‘सुनौँ सुनाऔँ’-को स्वर्ण प्रकरण अर्थात् ५०औँ प्रकरणलाई गोर्खा भाषाका अग्रणी प्रवर्तक तथा पहिलो नेपाली भाषाका खबर कागज ‘गोर्खे खबर कागत्’-का सम्पादक, प्रकाशक अनि मुद्रक पादरी गङ्गाप्रसाद प्रधानप्रति समर्पित गर्दै पुनः आरम्भ गरिने भएको जानकारी पुस्तकालयको मूल सचिव विनोद रसाइलीले बताएका छन्। स्मरण रहोस् उक्त मासिक कार्यक्रम गत कोभिडकालमा ठप्प भएको थियो। उक्त दिनको कार्यक्रम बिहान १० बजे स्थानीय गोर्खा जातीय विभूति उद्यानमा अवस्थित पादरीको मूर्तिमा पुष्पार्पण एवम् खदामालासहित श्रद्धाञ्जली अर्पण गरिनेछ भने उत्तरार्द्धको कार्यक्रम गोर्खा जन पुस्तकालयको निजी भवनमा कवि गोष्ठी तथा पादरीमाथि आधारित विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्यतापूर्वक पालन गरिने तय गरिएको छ। यसबाहेक यस वर्षको भानुजयन्ती पनि सदा झैँ पुस्तकालयले सूचना अनि सांस्कृतिक विभाग, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनसँग संयुक्त रूपमा पालन गर्ने तय गरेको छ। यस वर्षको भानु जयन्तीमा पनि गत वर्ष झैँ खुल्ला रामायण पाठ प्रतियोगिता अनि अन्तर माध्यमिक विद्यालय भानुभक्त रचित फुटकर कविता प्रतियोगिता आयोजन गरिनेछ। दुवै प्रतियोगितामा सांस्कृतिक वेशवूषा र टोलीमा प्रतियोगीको सङ्ख्या अधिकतम आठजना हुनपर्ने नियम सुनिश्चित गरिएको छ भने अरू नियमहरू औसत रूपले पुरानै राखिएको छ।यस वर्षको भानुजयन्ती पनि सदा झैँ बर्खायामलाई ध्यानमा राखेर दुई भागमा विभक्त गरिएको छ।पूर्वार्द्धको कार्यक्रम बिहान ९:३० बजेतिर गोर्खा जातीय विभूति उद्यान खरसाङमा श्रद्धाञ्जली कार्यक्रमको रूपमा आयोजन गरिनेछ भने प्रतियोगिता र रहल कार्यक्रम टाउन कम्युनिटी भवन, नयाँ बजार खरसाङमा सम्पन्न गरिनेछ। विभिन्न विभिन्न स्कूल र संघ संस्थाका प्रतियोगीहरूलाई आगामी ८ जलाईभित्रमा आफ्नो सहभागिता सुनिश्चित गरिदिने विज्ञप्तिमार्फत् गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव विनोद रसाइलीले दिएका छन्।










