तीनधारेदेखि केही चुनभट्टीमा एक घर पैह्रोले क्षतिग्रस्त

IMG-20240702-WA0231

खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधानद्वारा निरीक्षण

खरसाङ : खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारेदेखि केही मुनि चुनभट्टीमा पैह्रोले एक घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। आज बिहान लगभग ३-४ बजेको समयमा गएको उक्त पैह्रोले चुनभट्टी स्टेशन पाखा निवासी रोमन राईको घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। उक्त पैह्रोले घैयाबारी ग्राम पञ्चायत दुईको कार्यालय पुग्ने पोनी रोड पनि पैह्रोले क्षतिग्रस्त बनाएर बाटो सबै लगेको छ भने उक्त पैह्रोको कारणले रोमन राईको घर सबै क्षतिग्रस्त बनाएपछि परिवारका सबै सदस्यहरूलाई सुरक्षित स्थानतिर सारिएको छ। उनको घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको साथै पाईखाना र बाख्राको खोर पनि सबै पैह्रोले लगेको छ। यसको साथै रोमन राईको घरको बाख्राको खोर लगेपछि बाख्रा मरेको र कतिवटा हराएको बताइएको छ। उक्त पैह्रो प्रभावित परिवारलाई अस्थायी रूपमा हालमा चुनभट्टी प्राथमिक पाठशालामा रिलिफ क्याम्प बनाएर राखिएको छ। उक्त पैह्रोको निरीक्षण गर्नलाई बिहान तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, उप प्रधान रञ्जित थापा, पञ्चायत समिति सदस्य साजन दर्जी उपस्थित रहेर पञ्चायतबाट तत्काल सहयोगको रूपमा तारपोलिनहरू सहयोग गरेका छन्। त्यसरी नै उक्त पैह्रोको निरीक्षण गर्नलाई खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान लगायत पञ्चायत समिति सदस्यहरू भक्तिमान तामाङ, वाङ्दी लामा, पञ्चायत सदस्या बिनिता गजमेर उपस्थित रहेका थिए। खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानले पैह्रो प्रभावित परिवारलाई तत्काल सहयोगस्वरूप राहत सामाग्रीहरू प्रदान गरेका छन्। उक्त पैह्रो जानुको मुख्य कारण नालाहरूको व्यवस्था सठीक नरहेको बताइएको छ। माथिबाट बगेर आउने पानीहरू सबै जथाभावी बगेर पैह्रो गएको स्थानीयहरूले बताएका छन्। स्थानीयहरूले माथिबाट बगेर आएको पानीले मुख्य सड़कदेखि पञ्चायत कार्यालयसम्म पुग्ने पोनी रोड सबै पैह्रोले लगेको छ। उक्त पैह्रोको कारणले स्थानीयहरूलाई धेरै डर भएको बताएका छन्। यो पैह्रो विषयमा पैह्रो पिढीत रोमन राईले पत्रकारहरूसित कुराकानी गर्दै यो पैह्रो बिहान २-३ बजेतिर आएर घरलाई क्षतिग्रस्त बनाएको बताउँदै त्यसपछि यो ठूलो पैह्रो गएको बताएका छन्। उनले पैह्रोले आफ्नो घर सबै क्षति गरेको र घरबाहेक पाईखाना र बाख्राको खोर सबै पैह्रो लगिदिएको अनि बाख्रा मरेको साथै कतिवटा हराएको जानकारी गराएका छन्। उनले पैह्रो निरीक्षण गर्नलाई क्षेत्रीय सभासद, पञ्चायत, प्रधान, उप प्रधान, समिति, पञ्चायत सदस्यहरू आएर सहयोग गरेको साथै चुनभट्टी प्राथमिक पाठशालामा रिलिफ क्याम्पमा अस्थायी रूपमा राखिएको बताएका छन्। पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले यो पैह्रो बिहान गएको र पैह्रो गएको थाहा पाउनसाथ क्षेत्रीय सभासद, पञ्चायत समिति, पञ्चायत सदस्य आएर तत्काल सहयोग गर्दै तारपोलिन लगाएको साथै परिवारलाई पहिलेबाटै रिलिफ क्याम्प बनाएर चुनभट्टी प्राथमिक पाठशालामा सारिएको बताएका छन्। उनले यस पैह्रोको निरीक्षण गर्नलाई खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान आएर सहयोग गरेको बताएका छन्।

उक्त पैह्रो निरीक्षण गरेपछि खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानले यो वर्षाको समय भएकोले सबैतिर पैह्रो गईरहेको छ अनि प्राकृतिक प्रकोपलाई मानिसले रोक्न नसकिने बताउँदै आफुले आज महानदीको पैह्रो क्षेत्रको निरीक्षण गरेर चुनभट्टी आएको बताएका छन्। उनले आफुले तत्काल सहयोगको रूपमा केही राहत सामाग्रीहरू प्रदान गरेको बताउँदै पैह्रो पिढीत परिवारलाई खण्ड पञ्चायत समितिको तर्फबाट गर्न सकिने सबै प्रकारको सहयोग गर्ने तथा जीटीए प्रमुख अनित थापालाई भनेर पनि सहयोग गरिने बताएका छन्। उनले यदि घरको परियोजनाहरू आएको खण्डमा पैह्रो पिढीतहरूको घर प्रथममा बनिने पनि बताइन्। पञ्चायत समिति सभापति अनु छेत्री प्रधानले एक प्रश्नको उत्तरमा अहिले घडी चारैतिर पैह्रो गईरहेको छ र खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न स्थानहरूको रिपोर्ट आफु समक्ष आईरहेको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement