बिराटनगर: मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ६ जनालाई पुलिसले पक्राउ गरेको छ। हिजो राति लागुऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा सुनसरीको पुलिस चौकी प्रकाशपुरबाट खटिएको पुलिस टोलीले बराहक्षेत्र नगरपालिका-९ की २३ बर्षिया कन्चना राई र १८ वर्षीय समन भुजेललाई ट्रमाडोल ३४० पिससहित र अस्थायी पुलिस पोष्ट तीनकुने धरानबाट खटिएको पुलिस टोलीले धरान-१७ का २१ वर्षीय राजु साहलाई स्पास्मो ३५०० ट्याब्लेट, ओपोट्याब १७०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ। यसैगरी पथरी शनिश्चरे-१ मोरङका १८ वर्षीय नवराज मगरलाई ट्रमाडोल ३३ चक्की र स्पासमिड १२ चक्कीसहित इलाका पुलिस कार्यालय पथरीले र बिर्तामोड-७ का ३३ वर्षीय सुरज लामा र विर्तामोड-५ का २२ वर्षीय विजय मगरलाई ४ ग्राम ब्राउनसुगरसहित इलाका पुलिस कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको पुलिस टोलिले नियन्त्रणमा लिएको छ। लागुऔषधसहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान कार्य भइरहेको छ।