विराटनगर: आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको छ। जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले बताए। यसअघि न्यायाधीश भण्डारीको इजलासले २४ जुन् (१० असार)मा बम्जनलाई दोषी ठहर गरेको थियो र सजाय निर्धारणका लागि सोमबारका लागि पेशी तोकिएको थियो। बम्जनलाई पुलिसको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ८ जनवरी २०२३ मा काठमाडौंबाट पक्राउ गरेको थियो। पुलिसले उनलाई २०१९ देखि नै खोजी गरिरहेपनि २०२३ मा मात्रै उनी पक्राउ परेका थिए। सर्लाही अदालतले ११ जनवरी २०२३ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ। उनीहरु सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको पुलिस अनुमान छ। सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको जाहेरी थियो। महिला अधिकारकर्मीको सहयोगमा १ अगस्त २०१९ मा ललितपुरमा पत्रकार सम्मेलन गर्दै एक १८ वर्षीया युवतीले बम्जनले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन्। त्यसपछि पुलिस कहाँ पनि यो विषयमा उजुरी परेको थियो। पुलिसले २०१९ जनवरीमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो। जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको हुनसक्ने आशंकामा छ। तर, पुलिसले प्रमाण फेला पार्न सकेन। करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो। बम्जन जोडिएको अरु मुद्दामा थप अनुसन्धान भइरहेको पुलिसले बताएको छ।











