विराटनगर (नेपाल): सर्वसाधरणलाई पुलिस हुँ भन्दै धाक धम्की दिएर पैसा असुली गर्ने एक नेपाल पुलिसका भूपू पुलिस इन्सपेक्टर पक्राउ परेका छन्। विराटनगर महानगरपालिका ८ का ५८ वर्षीय गणेशमान श्रेष्ठलाई जिल्ला पुलिस कार्यालय मोरङको टोलीले असुली गरेको रकमसहित सोमबार दिउँसो पक्राउ गरेको हो। पुलिस हुँ भन्दै विराटनगर ६ का राजकुमार भगतबाट नगद १० हजार रुपियाँ लिएको प्रमाणसहित नियन्त्रणमा लिएको जिल्ला पुलिस कार्यालय मोरङका पुलिस प्रवक्ता डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए। श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ, ’उनले भने,‘अहिले घटनाको थप अनुसन्धान भईरहेको छ। अन्य व्यक्तिहरुबाट पनि पैसा असुली गरेको हुन सक्छ, त्यसमा हामी लागि परेका छौँ।‘ थप अनुसन्धानपछि मात्र अरु कुरा खुल्ने प्रवक्ता बस्नेतले बताए।











