गान्तोक: सिक्किम सरकारको वन तथा पर्यावरण विभागको पहलमा आजदेखि सिक्किम पर्यावरण पर्व २०२४ शुभारम्भ भएको छ। यस अवसरमा हिमालय जुलोजिकल पार्कमा आयोजित ग्रीन राईड र ग्रीनाथनलाई विभागका मन्त्री पिन्छो नामग्याल लेप्चाले झण्डा हल्लाएर प्रस्थान गराए। उक्त कार्यक्रममा मन्त्री पिन्छो नामग्याल लेप्चा लगायत विभागीय अधिकारीहरूले पनि यस ग्रीनाथनमा सहभागी बन्दै पैदल यात्रा गरे। पत्रकाहरूसँग कुरा गर्दै मन्त्री लेप्चाले पर्यावरण संरक्षणमा वर्तमान एसकेएम सरकारको विविध कार्यक्रम र पहल शुरू गरेको उल्लेख गरे। राज्य सरकारद्वारा शुरू गरिएको कार्यक्रम जस्तै मेरो रूख मेरो सन्तति, मेरो बाटो मेरो बोट जस्ता पर्यावरण संरक्षण सम्बन्धि कार्यक्रमहरूको चर्चा गर्दै आगामी १४ जुलाईसम्म चल्ने पर्यावरण पर्वमा सहभागी बन्न सबैलाई आग्रह गरे। एसकेएम पार्टी सरकारमा आएपछि पर्यावरण संरक्षणको क्षेत्रलाई प्राथमिकता दिँदै विभिन्न प्रकारको योजना साथै पहल शुरू गरेको अवगत गराए। विशेष गरेर मानिसलाई बाँच्नको निम्ति चाहिने पर्यावरणको संरक्षण गर्न सरकार साथै विभाग कटिबद्ध रहेको जनाए। उनले थप जानकारी गराए अनुसार जुलोजिकल पार्कलाई निकट भविष्यमा अपडेट गर्ने र यसको संरक्षणलाई लिएर पनि विभाग साथै सरकार चिन्तित रहेको बताए। यसैगरी वन तथा पर्यावरण विभागका सचिव डा. प्रदीप कुमारले आजदेखि शुरू भएको पर्यावरण पर्व अवधि विविध प्रकारका जनसचेतनामुलक कार्यक्रमहरू आयोजना हुने जानकारी गराए।