वर्ष २०२४ को भानु पुरस्कार डुप छिरिङ लेप्चालाई प्रदान गरिने

IMG-20240701-WA0302

गान्तोक: आगामी १३ जुलाईको दिन पालन गरिने २१०औं भानु जयन्तीको अवसरमा नेपाली साहित्यलाई धेरै वर्षदेखि टेवा पुऱ्याउँदै आएका डुप छिरिङ लेप्चालाई भानु पुरस्कारले सम्मान जनाउने भएको छ। आज विकास क्षेत्रस्थित नेपाली साहित्य परिषदद्वारा आयोजित एक पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको हो। संस्था अध्यक्ष हरि ढुङ्गेलले पत्रकारहरूलाई सम्बोधन गर्दै डुप छिरिङ लेप्चाको नेपाली भाषा प्रतिको योगदानको कदर गर्दै उनलाई यस वर्षको भानु पुरस्कार प्रदान गरिने संस्थाले निर्णय लिएको बताए। यसरी नै भाषा गौरव सम्मान यस वर्ष लेप्चा भाषाको निम्ति दावा छिरिङ लेप्चा र भोटिया भाषाको निम्ति कर्मा लोब्जाङ भोटियालाई प्रदान गरिने भएको छ। सोही प्रकारले सेवाश्री सम्मान यस वर्ष विभिन्न विदामा सात जनालाई प्रदान गरिने छ, जसमा साहित्य सेवाश्री सम्मान उद्धव गोपाल श्रेष्ठ, सङ्गीत सेवाश्री सम्मान धनकुमार गुरुङ,नाट्य सेवाश्री सम्मान भरत वशिष्ठ,पत्रकारिता सेवाश्री सम्मान नन्दु दुतराज,चित्रकारिता सेवाश्री सम्मान धिरज प्रधान,नृत्य सेवाश्री सम्मान श्रीमती गायत्री राई, श्रीमती कला भोटिया र श्रीमती ममता सिंहलाई प्रदान गरिने भएको छ। सोही प्रकारले उक्त अवसरमा अन्तरविद्यालय र खुल्ला रामायाण पाठ प्रतियोगिता, अन्तरविद्यालय र खुल्ला कविता वाचन प्रतियोगिता र अन्तरविद्यालय र जातिय गोष्ठी शोभा यात्रा प्रतियोगिताको पनि आयोजना गरिने भएको छ। विहान जिरोपोइन्ट स्थित भानु उद्यानमा हुने कार्यक्रममा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित रहने छन् भने अपरान्ह् मनन केन्द्रमा हुने कार्यक्रममा मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित हुने उनले जानकारी गराएका छन्।

उक्त अवसरमा काठमाण्डौ, दार्जीलिङ, कालेबुङ, भोटान र आसमका पनि साहित्यकारहरूले उपस्थिति जनाउने अध्यक्ष ढुङ्गेलले पत्रकारहरूलाई जानकारी गराए।

About Author

Advertisement