जीवन प्रसाद शर्मा ग्वाला रत्न पुरस्कारले सम्मानित
गान्तोक: राज्यका ग्वालाहरूमा समर्पित प्रतिवर्ष १ जुलाईको दिन पालन गरिने ग्वाला दिवस कार्यक्रम आज यहाँको मनन केन्द्रमा सम्पन्न भयो। राज्यका कृषि, बागवाणी, पशुपालन एवं पशु चिकित्सा विभागका मन्त्री पुरण गुरुङको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा राज्यका मन्त्रीगण, विधायकगण साथै सिक्किम सहकारी दूध उत्पादक संगठनसँग आबद्ध रहेका सहकारी समितिहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रतिवर्ष ग्वाला दिवसको दिन सर्वाधिक दूध उत्पादक ग्वालालाई प्रदान गरिने “मिल्क पर्सन अफ् द इयर’’ पुरस्कारलाई यसवर्षदेखि अलग ढंगमा प्रदान गर्ने थालनी गरिएको छ। यसवर्षदेखि सर्वाधिक दूध उत्पादक मात्र होइन गाईलाई राम्रोसँगले स्याहार सुसार गर्ने, गोठ सफा राख्ने लगायत विविध मापदण्ड पूरा गर्ने सर्वश्रेष्ठ ग्वालालाई “ग्वाला रत्न’’ पुरस्कारले सम्मान जनाइयो। यो वर्षको ग्वाला रत्न पुरस्कार पाकिम जिल्लाका ग्वाला जीवन प्रसाद शर्माले प्राप्त गरेका छन्। यस पुरस्कार स्वरुप रु.३ लाख धनराशि अनि प्रशस्ति पत्र, स्मृति चिह्न प्रदान गरियो। अबोपरान्त प्रतिवर्ष सर्वश्रेष्ठ ग्वालालाई “ग्वाला रत्न’’ पुरस्कारले सम्मान जनाइने भएको छ। यसरी नै नाम्ची जिल्लाको सदाम निवासी ग्वालाका छोरा मेधावी विद्यार्थी सायर कार्कीलाई संगठनको तर्फबाट सम्मानसँगै ५१ हजार नगद राशि, प्रशस्ति पत्र प्रदान गरियो। उनी बाह्रौं श्रेणी ९५ प्रतिशत अंक हासिल गरी स्टेट टप्पर बनेका थिए। उनको अबोपरान्त पढ़ाईको खर्च सिक्किम सहकारी दूध उत्पादक समितिमार्फत राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गर्ने भएका छन्। यसको निम्ति मेधावी विद्यार्थी कार्कीले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि एवं राज्यका कृषि, बागवाणी, पशुपालन एवं पशु चिकित्सा सेवा विभागका मन्त्री पुरण गुरुङले राज्यका सम्पूर्ण ग्वालाहरूलाई बधाई एवं शुभकामना दिए। सिक्किम सहकारी दूध उत्पादक संगठनमार्फत राज्य सरकारद्वारा गरिएका पहलहरूको मन्त्री गुरुङले सराहना गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी, कुशल नेतृत्वमा राज्यका ग्वालाहरूको सम्मान, हितमा गरिएका पहलहरूलाई हामीले गम्भीरतापूर्वक लिँदै चिन्तन, मनन गर्नुपर्ने उनले आह्वान गरेका छन्। अब देखावटी गर्नेलाई होइन गरिखानेहरूलाई सलाम गर्नुपर्ने विचार पोख्दै उनले राज्यका लगनशील ग्वालाहरूलाई आत्मनिर्भर सिक्किम, सुनौलो अनि समृद्ध सिक्किम निर्माणहेतु प्रोत्साहित गर्नुपर्ने थप आह्वान गरेका छन्। संसारको कुनै पनि देशका किनेर खाने जनता धनी नभएको उल्लेख गर्दै मन्त्री गुरुङले सिक्किमलाई किनेर खाने होइन बिक्री गरेर खाने बनाउन राज्य सरकार लागिपरेको विश्वस्त पारेका छन्। ग्वालाहरूको हितमा आवश्यक सहयोग प्रदान गर्न सरकार प्रयासरत रहेको मन्त्री गुरुङले कटिबद्धता व्यक्त गर्दै राज्यवासीले राज्यकै उत्पाद किनेर खानुपर्ने कुरामाथि उनले जोर दिएका छन्। दूध उत्पादन अझ बढ़ाउने लक्ष्यलाई ध्यानमा राख्दै विभागमार्फत ग्वालाहरूलाई गुणस्तरीय गाईहरू वितरण गर्ने दिशामा पहल गर्ने मन्त्री गुरुङले आश्वासन दिएका छन्।
कार्यक्रममा संगठनका अध्यक्ष यम कुमार शर्माले स्वागत सम्बोधन गरेका थिए भने संगठनका प्रबन्ध निदेशक डा. तिलक घतानीले सिक्किम मिल्कले हालसम्म गरेका प्रगतिहरूको विस्तृत विवरण पेश गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा रहेको राज्य सरकारले दूधमा प्रतिलिटर ८ रुपियाँ प्रोत्साहन राशि प्रदान गर्नथालेदेखि राज्यमा दूध उत्पादनमा ह्वात्तै वृद्धि भएर गएको प्रबन्ध निदेशक डा. घतानीले जानकारी गराए। चार वर्षभित्रमा राज्यका ग्वालाहरूलाई मोठ ५५ करोड़भन्दा अधिक प्रोत्साहन राशि प्रदान गरिसकेको जानकारी गराए।

यस वर्ष नाम्ची जिल्लाको मल्ली दूध उत्पादक सहकारी समिति पहिलो, बेन दूध उत्पादक सहकारी समिति दोस्रो अनि गान्तोक जिल्लाको नैताम दूध उत्पादक सहकारी समितिले तेस्रो पुरस्कार हासिल गऱ्यो। यसमा पहिलो पुरस्कार रु.१० लाख दोस्रो पुरस्कार रु.७ लाख अनि तेस्रो पुरस्कार रु.५ लाखसँगै स्मृति चिह्न प्रदान गरियो। यसरी नै उत्कृष्ट प्रदर्शनी गर्ने जिल्लाको पुरस्कार नाम्ची जिल्लाले प्राप्त गरेको छ। यसरी नै राज्यको छःवटै जिल्लाको पहिलो, दोस्रो अनि तेस्रो सर्वाधिक दूध आपूर्ति गर्ने एमपीसीएसहरूलाई पनि क्रमैले २५ हजार, १५ हजार अनि १० हजार रुपियाँ प्रदान गरियो।