सालबारी: शब्द समयको १३१औं प्रकरण सालबारी बजारको सयपत्री सङ्घको प्रेक्षागृहमा सम्पन्न भयो। कार्यक्रमको शुभारम्भ डा. सञ्जय बान्तवाको वक्तव्यद्वारा भयो। आफ्नो सारगर्भित वक्तव्यमा डा. बान्तवाले शब्द समयले सधैं सबै स्तरका साहित्यकार र साहित्यानुरागीहरुलाई प्रोत्साहन दिँदै आएको कुरो जनाए। फेरि समालोचना विधा आज सङ्कटमय स्थितिमा रहेको र पुस्तक सम्पादनको समस्याको इतिहासलाई वर्तमानको सन्दर्भमा बुझ्नुपर्ने कुराको पनि उल्लेख गरे।
रचना पाठको क्रममा भविलाल लामिछाने, मोहन ठकुरी, नरबहादुर छेत्री, श्याम प्रधान, पूर्ण मंगर, कृष्णप्रधान ‘अर्पण’, लीलबहादुर सुनार, कविता अधिकारीले आ-आफ्नो कविता सुनाए भने देविका मंग्रान्तीले मुक्तक पढिन्। यसै क्रममा मोनिका प्रधानले एउटा संवेदनात्मक पत्र-कथा सुनाइन्। फेरि सुभाष छेत्री, पीटी योल्मो, मणिकुमार प्रधानले लघुकथा सुनाए भने नीरा सुब्बा नेचालीले हाइकु सुनाइन्। मिलन रुचालले आध्यात्मिक चिन्तनमाथि आफ्नो गहन वक्तव्य राखेका थिए। कार्यक्रममा अञ्जना भण्डारीले आफ्नो वक्तव्यमा शब्द समयको १३१औं प्रकरणसम्मको अक्लान्त यात्रा एउटा उदाहरण हो भनिन्। कार्यक्रममा वरिष्ठ राजनीतिक चिन्तक डीएस बम्जन, सिने जगतका प्रतिष्ठित अभिनेता टङ्क शर्मा, देवराज शर्मा, प्रकाशमणि प्रधानको पनि उपस्थिति रहेको थियो। अन्त्यमा वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडाले आफ्नो समापन वक्तव्यपछि धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन भएको घोषणा गरे भनी जीत सुनारले जानकारी गराएका छन्।










