विराटनगर: नेकपा एकिकृत माले मोरङमा लामो समयदेखि रिक्त रहेको जिल्ला कमिटीको सचिवमा बेलबारीका रविन थापा चयन भएका छन्। आइतबार बसेको नेकपा एकिकृत माले कोशी प्रदेश कमिटीको सचिवालय बैठकले एकिकृत माले मोरङका अध्यक्ष बाबुराम कार्कीले पदाधिकारी मनोनितका लागि गरेको सिफारिसलाई अनुमोदन गरेको हो। बैठकले अध्यक्षमा बाबुराम कार्की, उपाध्यक्षमा शान्ति कुमारी लिम्बू, सचिवमा रविन थापा र उपसचिवमा सन्तोष साह र सोमराज थापालाई अनुमोदन गरेको जनाइएको छ। गत मई ३१ मा बसेको जिल्ला कमिटीको बैठकले अध्यक्षमा तत्कालीन उपाध्यक्ष बाबुराम कार्कीलाई मनोनित गर्दै आगामी १०औं जिल्ला अधिवेशन समेत गर्ने कार्यभारसहित संगठन कमिटी गठन गरेको थियो। सोही कमिटीको बाँकी पदाधिकारीहरू मनोनित गर्दै प्रदेश कमिटीको बैठकले अनुमोदन गरेको हो।
२०२१ दिसम्बरमा सम्पन्न भएको एमाले मोरङको नबौं जिल्ला अधिवेशनले तीन वर्षे कार्यकालका लागि ऋषिकेश पोखरेलको अध्यक्षतामा जिल्ला कमिटीका पदाधिकारी सर्वसम्मत चयन गरेको थियो। उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रूपेश खतिवडा र उपसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साह चयन भएका थिए। तर सचिव खतिवडाले २०२२ सितम्बरमा अध्यक्ष पोखरेलसँगको टकरावका कारण राजिनामा दिएपछि जिल्ला कमिटीमा सचिव पद रिक्त रहँदै आएको थियो। आगामी जिल्ला अधिवेशनसम्मका लागि रविन थापा सचिव मनोनित भएका छन्। यसअघि उपसचिव रहेकी लिम्बू उपाध्यक्ष बनेकी छन्।