विराटनगर: होटल संचालिकाको कुटपिटबाट विराटनगरमा एक जनाको मृत्यु भएको आरोप छ। विराटनगर १९ बैजनाथपुरका ५० वर्षीय बिरबल गोसाइको उपचारको क्रममा रविबार दिउँसो मृत्यु भएको हो। उनी कुटपिटबाट घाइते भएका थिए। उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो। बिरबललाई विराटनगर १९ बैजनाथपुरमा होटल संचालन गर्ने महिलाले ३५ वर्षीय तीलादेवी ऋषिदेवले कुटपिट गरेको आरोप छ। बिरबलको मृत्यु भएपछि होटल संचालिका ऋषिदेवलाई पुलिसले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको मोरङ पुलिसका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए। ‘ऋषिदेवलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ’, उनले भने, ‘अहिले घटनाको थप अनुसन्धान भइरहेको छ।’ पोस्टमार्टम गर्ने तयारी गरिएको छ। पोस्टमार्टम रिपोर्ट पछि मात्रै थप विषय खुल्ने उनले बताए। उनको शरीरमा चोटपटक पनि लागेको अनि घाइते अवस्थमा विरबल आइतबार बिहान अचेत अवस्थामा भेटिएको बताइएको छ। स्थानीयले उनलाई कोशी अस्पताल लिएर आएका थिए। आइतबार दिउँसो ३ बजे उपचारको क्रममा बिरबलको मृत्यु भएको अस्पतालले जनाएको छ।