गुगल ट्रान्सलेटमा समावेश भयो नेवारी भाषा

WhatsApp-Image-2024-07-01-at-14.37.33

विराटनगर: सर्च इन्जिन प्लाटफर्म, गुगलको ट्रान्सलेट सेवामा नेपालभाषा (नेवारी) समावेश भएको छ। २७ जून बिहीबार ब्लगपोस्टमार्फत गुगलले विश्वका ११० भाषा थप गरेको जानकारी गराएको थियो। तीमध्ये नेवारी भाषा पनि समेटिएको छ। गुगल ट्रान्सलेटबाट अब विभिन्न भाषालाई नेपालभाषामा उल्था गर्न सकिन्छ। नेपाल भाषालाई पनि अन्य भाषामा उल्था गर्न सकिन्छ। गुगलले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी विविध भाषा उल्था गर्ने सुविधा ल्याएको जनाएको छ। एआईको पाल्म-२ ल्याङ्ग्वेज मोडलको सहयोगमा ६१ करोडभन्दा धेरैले बोल्ने क्यान्टोजी भाषादेखि अफ्रिकामा बोलिने फन, स्वाती, वलोफसँगै नेपालको नेवारी भाषालाई गुगल ट्रान्सलेटमा राखिएको ब्लग पोस्टमा उल्लेख छ।

आफ्नो मातृभाषाको संरक्षणका लागि पहल गर्दै आएकी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंलोगलले गुगल ट्रान्सलेटमा नेपालभाषा समावेश भएकोमा खुशी व्यक्त गरेकी छिन्। विश्व नेवा संगठनले सन् २०२१ देखि नै गुगल ट्रान्सलेटका इन्जिनियर समूहलाई अंग्रेजीबाट नेपाल भाषामा अनुवाद गर्ने परियोजनाका लागि सहयोग गर्दै आएका थिए। सन् २०१३ को दिसम्बरमा गुगलले नेपाली भाषालाई आफ्नो गुगल ट्रान्सलेट सेवामा समावेश गरेको थियो। गुगल ट्रान्सलेटमार्फत भाषागत अवरोधलाई तोडेर मानिसहरूलाई आपसमा जोड्न खोजिएको गुगलले जनाउँदै आएको छ। यसअघि सन् २०२२ मा जेरो-सट मेसिन ट्रान्सलेसन प्रविधिमा आधारित भएर नयाँ भाषाहरू थप गरिएकोमा यसपटक एआईको सहयोगमा भाषा अनुवादलाई अझै प्रभावकारी बनाइएको गुगलको दाबी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement