वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा १० हजार बिरुवा रोपिए

IMG-20240701-WA0072

विराटनगर: पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन झापाको अर्जुनधारा नगरपालिका– ३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन्। जुकेखाडी सामुदायिक वनले ती बिरुवा रापेको छ। सामुदायिक वनको ७ सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएको वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए। ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपेका उनले जानकारी दिए। जिल्लाको उत्तरी भेगमा जंगली क्षेत्र छ। जहाँ भारतबाट बर्सेनी आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको संख्यामा रहेका रैथाने जंगली हात्तीले यही जंगललाई वासस्थान बनाउने गरेका छन्। हात्तीबाहेक जंगलमा बस्ने बाँदरबाट पनि  जंगलनजिकका बासिन्दा पिरोलिँदै आएका छन्। अहिले रोपिएका फलफूलका बिरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयवासीले ठानेका छन्।

जंगली जनावर जंगलमै रमाउन् र उनीहरूलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका बिरुवा रोपिएको हो। आगामी वर्ष २० हजार बिरुवा रोप्ने योजना रहेको उनले बताए। हाल जंगलमा हात्ती र बाँदरका लागि खानलायक बोटबिरुवा मासिइसकेका कारण समस्या भएको छ। दिउँसो जुकेखाडी जंगलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव–हात्ती द्वन्द्व हुने भएकाले ती बिरुवाले हात्तीलाई जंगलमै अलमल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपिन राईले बताउछन। उनले भने, ‘आहारको खोजीमा बस्तीमा पसेर हात्तीले दुःख दिने गरेका छन्। जंगलमा नै आहार पाएपछि ती गाउँ पस्न छाड्छन्, यसो हुँदा मानव–हात्ती द्वन्द्व घटाउन सहयोग पुग्छ।’

समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा तीन हजार ५ सय ५८ उपभोक्ता छन्। जंगलमा बिरुवा रोप्न सामुदायिक वनका उपभोक्ता आफैँले घरबाट बिरुवा संकलन गरेका थिए। जिल्ला डिभिजन वन कार्यालयले थप तीन हजार बिरुवा दिने भएको समितिले जनाएको छ। उक्त कार्यालयका प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ–आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बाँसलगायत बिरुवा रोप्ने गरेका जानकारी दिए। वन कार्यालयको पनि उनीहरूलाई बिरुवा उपलब्ध गराएर सहयोग गर्ने नीति रहेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement