ब्रीजटाउन: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-का सचिव जय शाहले टीम इण्डियाका नयाँ मुख्य प्रशिक्षक आउँदो श्रीलंकाविरुद्ध सीरीजको अवधि टीममा आउने पुष्टि गरेका छन्। तीनवटा म्याचको टी२० सीरीज र तीनवटा म्याचको वनडे सीरीज खेल्न भारतीय टीम श्रीलंका यात्रामा जानेछ, जसको शुरुवात २७ जुलाईदेखि हुनेछ। टी२० वर्ल्ड कपको फाइनलपछि प्रशिक्षक राहुल द्रविड़को कार्यकाल समाप्त भएको छ, जहाँ भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरी १७ सालपछि प्रतिष्ठित ट्रफी जितेको थियो। बारबाडोसमा पत्रकारहरूसँग कुराकानीको क्रममा शाहले क्रिकेट सल्लाहकार समिति (सीएसी)-ले अगावै दुईजनाको साक्षात्कार लिएको अनि उनीहरूलाई शर्टलिस्ट गरिएको बताए। अब मुम्बई पुगेपछि बीसीसीआईका अधिकारीले यसको घोषणा गर्ने जानकारी दिए। यसको साथमा बीसीसीआई सचिवले पूर्व क्रिकेट भीभीएस लक्ष्मण अन्तरिम प्रशिक्षकको रूपमा भारतीय टीमसँग जिम्बाब्वे जाने पनि बताए।
शाहले भने, प्रशिक्षक र चयनकर्ता दुवैको नियुक्ति चाँड़ै हुनेछ। सीएसी-ले साक्षात्कार लिएर दुईवटा नाम शर्टलिस्ट पनि गरेको छ। मुम्बई पुगेपछि जे पनि तय हुनेछ, हामी त्यही अनुसार चल्नेछौं। भीभीएस लक्ष्मण जिम्बाब्वे गइरहेका छन् तर श्रीलंका सीरीजको निम्ति नयाँ प्रशिक्षकलाई सामेल गरिनेछ। उल्लेखनीय छ, भारतीय टीमका नयाँ प्रशिक्षक बन्ने दौड़मा गौतम गम्भीर सामान्य अघि रहेका छन्। धेरैजना पूर्व क्रिकेटरले २०११ वर्ल्ड कप विजेता भारतीय टीमका सदस्य गम्भीरको समर्थन गरेका छन्। गम्भीर २००७-मा आईसीसी टी२० वर्ल्ड कप र २०११-मा वनडे वर्ल्ड कप जित्ने टीमका प्रमुख सदस्य थिए। उनकै मार्गदर्शनमा कलकत्ता नाइट राइडर्स (केकेआर)-ले यस साल आईपीएल ट्रफी पनि जित्यो।