गान्तोक: राज्यको पर्यटन विकास संस्था र कृषक उत्पादन संस्थाको संयुक्त पहलमा हिजो पर्यटन विकास अनि प्रगतिशील कृषकहरूलाई अभिनन्दन साथै प्रोत्साहन राशि वितरण कार्यक्रम सदामको इको हट ग्राउण्डमा सम्पन्न भयो। उक्त कार्यक्रममा कृषि एवम वागवाणी विभागका मन्त्री पुरण कुमार गुरूङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने पर्यटन विभागका मन्त्री टीटी भोटिया विशिष्ट अतिथिकोरूपमा रहेका थिए।सोही प्रकारले विधायक एमबी प्रधान, जिल्ला अध्यक्ष अञ्जिता राजालिम लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा मुख्य अतिथिकोको वाहुलीबाट मल्ली निर्वाचन क्षेत्रका कूल ९१४ जना प्रगतिशील कृषकहरूलाई ६१ लाख रूपियाँ प्रदान गरियो। यसरी नै ग्रीन हाउस र पुलभरिजिर मशिन र स्प्रे मशिनको निम्ति टोकन पनि वितरण गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री गुरूङले वर्तमान सरकारी कृषकहरूको निम्ति लागु गरेको नीति र यसको परिणामबारे जानकारी गराए। उनले राज्यका युवाहरूलाई आधुनिक खेती अप्नाउनु पर्ने जस्तै पोल्ट्री उत्पादन, माछा पालन आदिको उदाहरण दिए। कृषि क्षेत्रमा उनीहरूको खेती विधिलाई सहज बनाउन र सुधार गर्न, मन्त्रीले पावर ट्रिलर, हरितगृह, उच्च-उत्पादक विविधता बीउ र अन्य धेरै आवश्यक सहयोग पुऱ्याउने आश्वासन दिए।










