गान्तोक: अखिल सिक्किम खस छेत्री बाहुन संघको पहलमा आज एसटीएनएम अस्पतालमा उपचारधीन रोगीहरूलाई ओरल किटस प्रदान गरियो। राज्यका स्वास्थ्य विभाग मन्त्री जीटी ढुङ्गेलको बाहुलीबाट ६ सय भन्दा अधिक रोगीहरूलाई आवश्यक सामग्री वितरण गरे। पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री ढुङ्गेलले मानवताको नाताले मानिसहरूले जीवित रहँदा नै सहयोग पुऱ्याउनु पर्ने सुझाउ दिए। यस संस्थाले जुन प्रकारको पहल शुरू गऱ्यो त्यो अति नै सराहनीय रहेको बताएका छन्। यस संस्थाबाट अन्यहरूले पनि सिक्नु पर्ने आग्रह गरे। राज्यमा धेरै वटा संस्थाहरू रहेता पनि यस प्रकारको कार्य अहिलेसम्म कसैले नगरेको जानकारी गराए। सबैले केही न केही सहयोग गरेमा अवश्य पनि रोगीहरूमा सकारात्मक सुधार आउन सक्ने सम्भावना व्यक्त गरे। सोही प्रकारले उनले चिकित्सकहरूलाई पनि रोगीहरूसँग राम्रो र सभ्य प्रकारले कुराकानी गर्ने आग्रह गरे। यदि चिकित्सकहरूले रोगीहरूसँग राम्रो व्यवहार गरेको खण्डमा रोगी छिटो जाती हुने बताए। यसरी नै अस्पतालमा सबै प्रकारको औषधि उपलब्ध गराउनको निम्ति मुख्यमन्त्री प्रेम सिंह तामाङले पहल शुरू गरेको जानकारी गराए। यसरी नै अस्पताललाई स्वच्छ राख्नको निम्ति सबैले पहल गर्नुपर्ने आग्रह गरे। अस्पतालका कर्मचारीहरूले मात्र स्वच्छ राख्ने कोशिष गरेर नहुने भएकोले यसको देखरेख र सर सफाई गर्नको निम्ति सबैको बराबर जिम्मेवारी हुने गरेको सुझाउ दिए। यसै क्रममा आयोजक समितिका अध्यक्ष नारायण खतिवडाले संस्थाले पहिलो पल्ट यसरी एसटीएनएम अस्पतालमा उपचारधीन रोगीहरूको निम्ति आवश्यक सामग्री वितरण गरेको बताए। तर यस भन्दा अघि पनि संस्थाले अन्य सामाजिक कार्यहरू सञ्चालन गर्दै आइरहेको बताए। आर्थिकरूपमा कमजोर विद्यार्थीहरूलाई संस्थाले आफ्नो कोषबाट पढाउँदै आइरहेको पत्रकारहरूलाई अवगत गराए। हाले गेजिङमा एक व्यक्तिको दुर्घनटामा परि मृत्यु भएको थियो भने उनको भाइलाई अहिले पढाउने जिम्मेवारी पनि संस्थाले लिएको बताए। विशेष गरेर राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै काम गरेको हुनाले संस्थाले पनि यस अस्पतालमा उपचारधीन रोगीहरूलाई प्राथमिकता दिँदै ओरल किटस वितरण गर्ने निर्णय लिएको जनकारी गराए।
सोही प्रकारले कार्यकारी अध्यक्ष डा. योगेश शर्माले संस्थाले गरेको उल्लेखनीय कार्यबारे जानकारी गराए। उनले थप जानकारी गराए अनुसार संस्थाले यस वर्षको पहिलो कार्यक्रम स्वास्थ्यको क्षेत्रबाट शुरू गरेको बताए। उनले आज छुट्टीको दिनमा पनि अस्पतालका कर्मचारी साथै चिकित्सकहरूले उपस्थिति दिएकोमा धन्यवाद दिए।