सोनादा: गोरामुमो रंगबुल धोतरिया रंगबुक समष्टि अध्यक्ष सन्तोष सुब्बाको हिज सिलगढीको एक अस्पतालमा उपचारको क्रममा निधन भएको छ। पार्टीको वरिष्ठ नेता एवं रंगबुल धोतरिया रंगबुक समष्टिका अध्यक्ष समेत रहेका सन्तोष सुब्बाको निधनले गोरामुमोमा शोकको लहर छाएको बताइएको छ। उनी 1986 सालको आन्दोलनमा वीर योद्धाको भूमिका निभाउँदै गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङसंग घनिष्ठ रहेका थिए। जाति, माटो अनि मुद्दाप्रति समर्पित सन्तोष सुब्बाले आफ्नो महत्त्वपूर्ण योगदान दिएका थिए। 2007 को राजनैतिक परिवेशपछि ठूलो चुनौतीहरुको सामना गर्दै समष्टि अध्यक्षको पदमा रहेर आफ्नो जीवनको अन्तिम क्षणसम्म पार्टीलाई बलियो बनाउन साथै सांगठनिक विस्तारलाई तीब्रताको साथ अघि बढाएका थिए। उनले पार्टीलाई बलियो बनाउन त्यस समय धेरै यातनाहरु सहनु परेको समष्टिका एक कर्मठ सदस्यले जानकारी दिएका छन्। सन्तोष सुब्बाको योगदानलाई सम्मान जनाउँदै आज गोरामुमो अध्यक्ष मन घिसिङ, दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बाद्वारा उनको वासस्थान रंगबुल पुगेर सन्तोष सुब्बालाई पार्टीको झण्डा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन्। शोकाकुल परिवारलाई भेटघाट गरी समवेदना प्रकट गरेका छन्। पार्टीको समर्पित नेता नेता गुमाउनु पर्दा पार्टी अध्यक्ष मन घिसिङद्वारा दुःख व्यक्त गर्दै भने, सन्तोष सुब्बा एक साहसी अनि समर्पित नेता थिए। उनी जस्तो मार्गदर्शक नेतालाई गुमाउनु पर्दा पार्टीलाई ठूलो क्षति भएको आभास गरेको छु। उनको निधनमा पार्टीमा गहिरो शोकको लहर छाएको छ। चिर आत्माको शान्तिको निम्ति ईश्वरसंग प्रार्थना चढाउँदै पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु भनी गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो छोटो विज्ञप्तिमा जनाएका छन्।

यसै क्रममा आज सन्तोष सुब्बालाई श्रद्धाञ्जली अर्पण गर्न गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई, एनबी प्रधान, आनन्द राई, ब्राञ्च कमिटी प्रतिनिधिवर्ग, भ्रातृ संगठन समष्टि प्रतिनिधिवर्ग लगायत व्यापक गोरामुमो कार्यकर्ताहरुको उपस्थिति रहेका थिए।










