खरसाङ: अखिल भारतीय नेपाली अनुसूचित जाति संघद्वारा युटुबर रजत तामाङ साथै अनुसूचित जातिको संवैधानिक अधिकार र गोर्खे समाजमा सबै जात एक समान हुन् भन्ने नाराको साथमा खरसाङमा रैलीको आयोजना गरेको छ। अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको तत्वावधानमा निकालिएको उक्त रैली खरसाङको मन्टिभियट खेल मैदानबाट शुरु भएर हिलकार्ट रोड हुँदै अस्पताल मोड़बाट वर्ध्दमान रोड भएर मोटर स्ट्याण्डसम्म आयोजना गरिएको थियो। उक्त जागरूकता रैली मोटर स्ट्याण्डमा पुगेर पथ सभामा परिणत भएको थियो। उक्त पथ सभा विशेष गरेर युटुबर रजत तामाङको विरूद्ध साथै अनुसूचित जातिको हक र अधिकारको लागि साथै जातीय समानताके लागि आयोजना गरिएको जानकारी प्राप्त भएको छ। उक्त पथ सभा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सभापति कमल सिलवालको अध्यक्षता र महकुमा समितिको उप सभापति सुष्मा सिंहको सञ्चालनमा सम्पन्न भएको छ। उक्त पथ सभालाई केन्द्रीय सभापति बुध्दवीर सार्की, केन्द्रीय महासचिव रिमेश मोथे, सुमन परियार, खरसाङ महकुमा समितिको सचिव प्रणय रोका, महकुमा सह सचिव बिपन विश्वकर्म, रबि तोलंगी, तीनधारे शाखाको सभापति अजय विश्वकर्म आदिले सम्बोधन गरेका थिए। वक्ताहरूले युटुबर रजत तामाङलाई कानुनी कार्वाही गर्ने जिम्मेवारी प्रशासनको हो तर गोर्खे समाजमा हामी सबै जात गोष्ठीहरू मिलेर बसेको साथै अनुसूचित जाति गोर्खे समाजको अभिन्न हिस्सा रहेको बताएका छन्। वक्ताहरूले वर्तमान राजनीति, अनुसूचित जातिको युवाहरूलाई जागरुक गराउन, अनुसूचित जातिमाथि हुने अन्याय र अत्याचार साथै छुवाछुत जस्ता विषयहरूमा वक्तव्य दिएका थिए। यस पथ सभामा सभाध्यक्ष कमल सिलवालले धन्यवाद ज्ञापन गरेका थिए।

उक्त रैली र पथ सभापछि पत्रकारहरूसित कुराकानी गर्दै अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सचिव प्रणय रोकाले आज खरसाङमा युटुबर रजत तामाङको विरोधमा साथै अनुसूचित जातिमाथि हुने छुवाछुत अनि गोर्खे समाजमा सबै जात एक समान हुन् भनेर मेसेज दिनलाई रैली र पथ सभा आयोजना गरिएको जानकारी गराएका छन्। उनले उक्त रैली र पथ सभामा दार्जिलिङ, बिजनबारी, मिरिक, सिलगढी लगायत खरसाङ महकुमा समिति अन्तर्गत विभिन्न शाखाहरूबाट प्रतिनिधिहरू उपस्थित रहेको बताएका छन्। सचिव प्रणय रोकाले अनुसूचित जाति गोर्खा समाजको अभिन्न अंग रहेको तथा पहाड़मा सबै जात गोष्ठीहरू एकतामा मिलेर बसेको बताउँदै रैली र पथ सभामा उपस्थित सबैलाई धन्यवाद दिएका छन्।