नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले टी–२० विश्वकप जितेको भारतीय क्रिकेट टोलीलाई बधाई दिएका छन्। प्रधानमन्त्रीले विश्वकपसँगै क्रिकेटरले पनि करोडौं जनताको मन जितेको बताए। यो जितपछि प्रधानमन्त्रीले आइतवार फोन गरी टीम इन्डियाका खेलाडीहरूसँग व्यक्तिगत रूपमा कुरा गरेर बधाई दिए। प्रधानमन्त्रीले रोहित शर्मालाई उनको उत्कृष्ट कप्तानीको लागि बधाई दिँदै उनको टी-२० करियरको प्रशंसा गरे। उनले फाइनलमा विराट कोहलीको इनिङ्स र भारतीय क्रिकेटमा उनको योगदानको प्रशंसा गरे। प्रधानमन्त्रीले हार्दिक पाण्ड्याको अन्तिम ओभर र सूर्यकुमार यादवको क्याचको प्रशंसा गर्दै जसप्रित बुमराहको योगदानको पनि प्रशंसा गरे। यसका साथै प्रधानमन्त्रीले भारतीय क्रिकेटमा उत्कृष्ट योगदानको लागि टोलीका प्रशिक्षक राहुल द्रविडलाई पनि धन्यवाद दिए। यसअघि टोलीको जितपछि प्रधानमन्त्रीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै भने, ‘च्याम्पियन्स! हाम्रो टोलीले उत्कृष्ट शैलीमा टी–२० विश्वकप ल्याएको छ। हामीलाई भारतीय क्रिकेट टोलीमा गर्व छ। तपाईंले मैदानमा कप जित्नुभयो, र देशको हरेक गाउँ र सडकमा करोडौं भारतीयहरूको मन जित्नुभयो।‘ उनले रोमाञ्चक खेललाई ऐतिहासिक भने जसमा भारतले दक्षिण अफ्रिकी टोलीलाई हराएको थियो। प्रधानमन्त्रीले भने, ‘१४० करोड भन्दा बढी भारतीयहरूले हाम्रा सबै क्रिकेटरहरूको प्रदर्शनमा गर्व महसुस गरिरहेका छन्। भारतीय पुरुष क्रिकेट टोलीले १७ वर्षको प्रतिक्षाको अन्त्य गर्दै शनिबार निकै रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै टी-२० विश्वकपको उपाधि जितेको छ।‘