बर्लिन: यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टमा आयोजक जर्मनी र स्विट्जरल्याण्डले क्वार्टर फाइनलमा स्थान बनायो। शनिवार अबेर राति खेलिएको दोस्रो प्री-क्वार्टर फाइनल म्याचमा आयोजक जर्मनीले लड़ाकू डेनमार्कलाई २-०-ले पराजित गऱ्यो। यसरी जर्मनी यूरो कप २०१६ पछि पहिलोपल्ट कुनै प्रमुख टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनायो। त्यस समय टीमले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। शनिवार राति सिग्नल इदुना पार्कमा ५५ प्रतिशत पोजेशनको साथ खेल्दै जर्मनीले शुरुदेखि नै दबाउ सृष्टि गर्ने प्रयास गरे पनि पहिलो हाफको खेलमा डेनमार्कको गोलकीपरलाई परास्त गर्न सकेन। मध्यान्तरसम्म कुनै गोल नभए पनि जर्मनीले दोस्रो हाफमा चाहिँ आफ्ना प्रशंसकहरूलाई खुशीयाली मनाउने मौका दियो। स्टार स्ट्राईकर काई हावेर्त्जले ५३औं मिनटमा पेनल्टीबाट जर्मनीको निम्ति गोलको खाता खोले। त्यसपछि जामाल मुसिआलाले ६८औं मिनटमा अझ एक गोल गरी जर्मनीको जीत सुनिश्चित गरे। यसअघि खेलिएको पहिलो प्री-क्वार्टर फाइनलमा स्विट्जरल्याण्डले गत विजेता इटलीलाई २-०-ले पराजित गऱ्यो। ओलम्पियास्टेडियन बर्लिनमा यी दुई टीमबीचको म्याच रोचक रह्यो तर ९ मिनटको अन्तरमा दुई हाफमा गरेको गोलले स्विट्जरल्याण्डलाई अन्तिम ८-मा पुऱ्यायो। म्याचमा ४९ प्रतिशत पोजेशनको साथ खेल्ने स्विट्जरल्याण्डबाट पहिलो गोल रेमो फ्रेउलरले ३७औं मिनटमा गरे। त्यसपछि रुबेन भार्गासले ४६औं मिनटमा अझ एक गोल गरी गत विजेता टीमको बिदावारी सुनिश्चित गरे। आज यूरो कप २०२४-को दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलिनेछ। भारतीय समयानुसार राति ९:३० बजीदेखि शुरु हुने पहिलो म्याचमा ईंग्ल्याण्ड र स्लोवाकियाबीच भिड़न्त हुनेछ। यसरी दोस्रो म्याच अबेर राति १२:३० बजीदेखि स्पेन र जर्जियाबीच खेलिनेछ।