ब्रीजटाउन (बारबाडोस): भारतीय क्रिकेट टीमका कप्तान रोहित शर्माले टी२० इण्टरनेशनल प्रारूपबाट सन्न्यासको घोषणा गरे। रोहितभन्दा केही समय अघि विराट कोहलीले पनि यस प्रारूपबाट सन्न्यासको घोषणा गरेका थिए। रोहितको भनाइअनुसार, टी२० इण्टरनेशनल प्रारूपबाट विदा लिने यसभन्दा असल समय हुन सक्दैन। रोहितले भने, म यस ट्रफी अनि टी२० वर्ल्ड कप जित्न व्यग्र थिए। म यसलाई जित्न चाहन्थे अनि अहिले काम पूरा भयो। यसपाली सफल हुन सक्दा म खुशी छु। रोहितले उनी भारतको निम्ति टेस्ट र वनडे प्रारूपहरूमा खेल्न जारी राखे पनि सबैभन्दा छोटो प्रारूपबाट पछि हटेको बताए। म्याचपछि पत्रकार सम्मेलनमा रोहितले भारतको दोस्रो ऐतिहासिक टी२० वर्ल्ड कप खिताबको खुशीयाली मनाउँदै भने, विदा लिनको निम्ति यसभन्दा असल समय हुन सक्दैन। यो निर्णय रोहितको निम्ति टी२०आई करियरको निम्ति एउटा उपयुक्त अन्तको प्रतीक हो कारण उनले यस यात्रालाई २००७-मा टी२० वर्ल्ड कपमा जीतको साथ शुरु गरेका थिए अनि टी२० वर्ल्ड कपमा खिताबी जीतको साथै समापन गरे। यी १७ सालमा रोहितले एकजना ब्याटरको रूपमा अभूतपूर्व उँचाईहरूलाई हासिल गरे। उनले १५९ वटा टी२०आई म्याचमा ३२.०५-को औसतले ४२३१ रन बनाए, जुन यस प्रारूपमा कुनै पनि क्रिकेटरको सर्वाधिक स्कोर हो। यसबाहेक उनले यस प्रारूपमा ५ वटा शतक पनि बनाए। यस प्रारूपमा अन्य कुनै पनि ब्याटरले यति धेर शतक बनाएका छैनन्। रोहितको नाममा ३२ वटा अर्द्धशतक पनि रहेको छ। टी२०आई-बाट विदा लिए पनि रोहितले भारतको निम्ति टेस्ट र वनडे-को साथमा आईपीएलमा खेल्न जारी राख्नेछन्।
रोहितले भने, यो मेरो अन्तिम म्याच थियो। यस प्रारूपमा खेल्न शुरु गरेदेखि मैले प्रत्येक म्याचको आनन्द लिए। मलाई यसको हरेक पल मन पऱ्यो। म यही चाहन्थे। म कप जित्न चाहन्थे। उल्लेखनीय छ, ३७ वर्षीय रोहितले २०२२-को टी२० वर्ल्ड कपमा पनि भारतको नेतृत्व गरेका थिए, जहाँ टीम सेमिफाइनलमा ईंग्ल्याण्डविरुद्ध हारेको थियो। त्यसको एक सालपछि उनको कप्तानीमा भारतले आईसीसी वनडे वर्ल्ड कपको फाइनलमा स्थान बनाएको थियो तर अहमदाबादमा खेलिएको फाइनलमा अष्ट्रेलियाविरुद्ध पराजित भएको थियो।
दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरी दोस्रोपल्ट टी२० वर्ल्ड कपको खिताब जितेको लगत्तै पछि कोहलीले टी२० इण्टरनेशनल प्रारूपबाट सन्न्यासको घोषणा गरे। कोहलीले यो उनको अन्तिम टी२० वर्ल्ड कप रहेको अनि अब युवा खेलाड़ीहरूलाई मौका दिने पालो आएको बताए। यसको साथमा उनले टी२०आई प्रारूपबाट पनि विदा लिए तर आईपीएलमा खेल्न जारी राख्नेछन्। फाइनलमा ५९ बल खेलेर म्याच जिताउने ७६ रन बनाउने कोहलीले प्लेयर अव् द म्याचको पुरस्कार पनि जिते। पुरस्कार लिएपछि कोहलीले भने, यो मेरो अन्तिम टी२० वर्ल्ड कप थियो अनि हामीले चाहेको कुरा हासिल गऱ्यौं। भारतको निम्ति खेल्दै यो मेरो अन्तिम टी२० म्याच थियो। हामी कप उठाउन चाहन्थ्यौं। अब युवा खेलाड़ीहरूले पनि भारतीय क्रिकेटलाई उँचाईमा पुऱ्याउने आशा छ। आईसीसी टुर्नामेण्टमा खिताब जित्ने हाम्रो प्रतीक्षा निक्कै लामो रह्यो। तपाईं रोहितलाई हेर्नुहोस्। उनले ९ वटा वर्ल्ड कप खेले अनि यो मेरो छैटौं वर्ल्ड कप हो। उनी जीतको हकदार हुन्। उल्लेखनीय छ, कोहलीले १२ जून २०१०-मा जिम्बाब्वे विरुद्ध भारतको निम्ति टी२०आई पदार्पण गरेका थिए। कोहलीले भारतको निम्ति आफ्नो करियरमा जम्मा १२५ वटा म्याच खेलेर ४८.६९-को औसत र १३७.०४-को स्ट्राईक रेटले ४१८८ रन बनाए। यस प्रारूपमा उनले एउटा शतक र ३८ वटा अर्द्धशतक बनाए। टी२० इण्टरनेशनल प्रारूपमा सर्वाधिक रन बनाउनेहरूका सूचीमा रोहित र कोहली शीर्ष दुई स्थानमा छन्।









