ब्रीजटाउन (बारबाडोस): ओपनर विराट कोहलीको उत्कृष्ट ब्याटिंगपछि बलरहरूका लड़ाकू प्रदर्शनको सहायताले भारतले दोस्रोपल्ट आईसीसी टी२० वर्ल्ड कप विजेता बन्ने गौरव हासिल गऱ्यो। शनिवार राति केनसिंग्टन ओवल मैदानमा खेलिएको चरम रोमाञ्चक फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गऱ्यो। यी दुवै टीमले अजेय रहेर फाइनलमा स्थान बनाए पनि दबाउको परिस्थितिमा असल प्रदर्शन गर्दै रोहित शर्माको कप्तानीमा रहने टीम च्याम्पियन भयो। भारतले यसअघि महेन्द्र सिंह धोनीको कप्तानीमा २००७-मा भएको टुर्नामेण्टको पहिलो संस्करणमा खिताब जितेको थियो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनायो। त्यसपछि दक्षिण अफ्रिकी टीमले चाहिँ ८ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो। भारतको तर्फबाट आज विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। यस म्याचको अघिसम्म औसत प्रदर्शन गरिरहेका कोहलीले आफ्नो सर्वश्रेष्ठ प्रदर्शनको निम्ति फाइनलको मञ्च रोजे अनि ५९ बल खेलेर प्रतिकूल परिस्थितिमा ६ वटा चौका र २ वटा छक्का लगाए।

कप्तान रोहित सहित केवल ३४ रनमा ३ विकेट गुमाएपछि कोहलीले पहिला अक्षर पटेलसँग चौथो विकेटको निम्ति ७२ र शिवम दुबेसँग पाँचौं विकेटको निम्ति ५७ रनको महत्त्वपूर्ण पार्टनरशीप गरे। यसमा अक्षरले ३१ बल खेलेर ४ वटा छक्का र एउटा चौकाको साथ ४७ रन बनाए। यसरी दुबेले २७ रनको योगदान दिए। हार्दिक पाण्ड्या ५ रनमा अविजित रहे। दक्षिण अफ्रिकाका बलरहरूमा केशव महाराज र एनरिख नोर्खियाले २-२ विकेट लिए। जवाफमा दक्षिण अफ्रिकाले पनि ओपनर रीजा हेण्ड्रिक्स र कप्तान ऐडन मार्करमलाई शुरुमै गुमायो। यी दुईले ४-४ रन बनाए। त्यसपछि क्विण्टन डी ककले ३९ र ट्रिस्टन स्टब्सले ३१ रन बनाएर टीमलाई म्याचमा कायम राखे।

यी दुई आउट भएपछि हेनरिख क्लासेनले एक समय त दक्षिण अफ्रिकालाई जीतको नजिक पुऱ्याएका थिए तर जसप्रीत बुमराहको अगुवाईमा भारतीय बलरहरूले पनि असाधारण पुनरागमन गर्दै आफ्नो टीमलाई जीत दिलाए। क्लासेनले ५२ रन बनाए। उनले २७ बल खेलेर ५ वटा छक्का र २ वटा चौका लगाए। उनले अक्षर पटेलको एक ओभरमा २४ रन पनि बनाए तर उनको विकेट पतन हुनको साथै भारतले म्याचलाई आफ्नो पक्षमा गऱ्यो।

डेविड मिलरले २१ रन बनाएर प्रयास गरे पनि दक्षिण अफ्रिकालाई जीत दिलाउन सकेनन्। भारतीय बलरहरूमा हार्दिक पाण्ड्याले सर्वाधिक ३ विकेट लिए। यसबाहेक बुमराह र अर्शदीप सिंहले २-२ विकेट लिए।