आईपीएलको प्लेअफ् समीकरण तयारः आरसीबीलाई प्लेअफ् उपहारमा दियो मुम्बई इण्डियन्सले

photocollage_2022522115210348.jpg

२२ मईः खराब शुरुवातपछि ट्रफी जित्ने होड़बाट बाहिर हुने मुम्बई इण्डियन्सले आफ्नो अन्तिम म्याचमा जीतको साथ दिल्ली क्यापिटल्सलाई पनि आफूसँगै बाहिर गरेर भाग्यशाली रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-लाई चाहिँ प्लेअफ्-को टिकट उपहारमा दियो। शनिवार राति खेलिएको इण्डियन प्रीमियर लीग (आईपीएल)-को म्याचमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गऱ्यो। मुम्बईको यस जीतले उनीहरूका प्रशंसकभन्दा पनि आरसीबीका प्रशंसकहरूलाई खुशीयाली मनाउने मौका दियो कारण दिल्ली क्यापिटल्सको हारपछि आरसीबी १४ वटा म्याचमा १६ पोइण्टको साथ आईपीएल टेबलमा चौथो स्थानमा रहेर प्लेअफ्-मा पुग्यो। शनिवार दिल्लीको टीमले जितेको भए उनीहरूको पनि १६ पोइण्ट पुग्ने थियो अनि असल नेट रन रेटको आधारमा रिषभ पन्तको टीम प्लेअफ्-मा पुग्ने थियो तर अन्तमा यस्तो हुन सकेन। म्याचमा दिल्ली पराजित हुनको साथै टेलिभिजन अघि बसेर परिणामको प्रतीक्षा गरिरहेका आरसीबीका खेलाड़ीहरूले खुशीले नाच्न शुरु गरे। सोशल मीडियामा भायरल भइरहेको भीडियोमा आरसीबीका कप्तान फाफ डू प्लेसिस, पूर्व कप्तान विराट कोहली र ग्लेन म्याक्सवेलसहित अन्य खेलाड़ीहरूलाई मुम्बई इण्डियन्सले म्याच जितेपछि खुशीयाली मनाउँदै गरेको देखिएको छ।
शनिवारको म्याचपछि आईपीएल २०२२-को प्लेअफ् समीकरण पनि तयार भयो। २४ मईको दिन खेलिने क्वालीफायर १-मा पोइण्ट्स टेबलको शीर्ष दुई स्थानमा रहने गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच भिड़न्त हुनेछ अनि त्यस म्याचको विजेता टीमले सीधै फाइनलमा स्थान बनाउनेछ भने हार्ने टीमले क्वालीफायर २-मा खेल्ने मौका हासिल गर्नेछ। यसरी नै एलिमिनेटर म्याच तेस्रो र चौथो स्थानमा रहने दुईवटा टीम लखनऊ सुपर जाइण्ट्स र आरसीबीबीच खेलिनेछ। त्यस म्याचको विजेता टीमले क्वालीफायर २-मा क्वालीफायर १-मा हार्ने टीमको चुनौती स्वीकार्नेछ अनि त्यस म्याचको विजेताले फाइनलमा क्वालीफायर १-को विजेतासँग सिंग जुझाउनेछ। यसरी नै एलिमिनेटर म्याचमा हार्ने टीमले टुर्नामेण्टबाट बिदा लिनेछ। क्वालीफायर १ र एलिमिनेटर म्याच २४ र २५ मईको दिन कलकत्तामा खेलिनेछ भने एलिमिनेटर र फाइनल म्याच २७ र २९ मईको दिन अहमदाबादमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement