गान्तोक: सिक्किम प्रतिभा प्रतिष्ठान र जिल्ला प्रशासनिक केन्द्रको संयुक्त पहलमा आज आगामी १३ जुलाईको दिन पालन गरिने भानु जयन्ती समारोहलाई लिएर दोस्रो चरणको समन्वय बैठक आयोजना गरियो। ग्रामीण विकास विभागको सामुदायिक भवनमा सम्पन्न भएको बैठकको अध्यक्षता पाकिम जिल्लाका जिल्लापाल अगवाने रोहन रमेशले गरेका थिए भने उक्त अवसरमा अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटिया, अतिरिक्त जिल्लापाल (विकास) रविन सेवा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बैठकमा विशेष गरेर आगामी दिनमा पालन गरिने भानु जयन्ती कार्यक्रमलाई कसरी सफल तुल्याउन सकिन्छ भन्नेबारे रणनीति तयार गरियो। बैठकलाई सम्बोधन गर्दै जिल्लापालले आगामी दिनमा पालन गरिने भानु जयन्ती समारोहलाई सफल तुल्याउनको निम्ति अप्नाउनु पर्ने सावधानीपूर्वक योजनाको महत्त्वबारे प्रकाश पारे। उनले समुदायको सहभागिता आवश्यक रहेकोमा जोड दिँदै कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सबै सरोकारवालालाई मिलेर काम गर्न आग्रह गरे।
बैठकमा जिल्लास्तरीय भानु जयन्ती मनाउने कार्ययोजनालाई अन्तिम रूप दिने विषयमा छलफल छलफल गरियो। सोही प्रकारले सिक्किम प्रतिभा प्रतिष्ठानका अद्यक्ष बीबी सुब्बा र संयुक्त सचिव डीआर गुरूङले उक्त कार्यक्रमबारे समितिले तयार पारेको रिपोर्ट प्रस्तुत गरे।