खोरीबारी: खोरीबारी पञ्चायत समितिकी सदस्य सुष्ना मर्दी चार दिनदेखि बेपत्ता भएकी छन्। शनिबार खोरीबारीको खानेपानी ट्याङ्की नजिकै रहेको ढक्रू टर्नमा राष्ट्रिय राजमार्ग–३२७ अवरुद्ध पारेर परिवार र स्थानीयले विरोध गरेका थिए। पारिवारिक स्रोतका अनुसार सुष्ना मर्दीको एनजेपी पुलिस थाना अन्तर्गतका गोपाल हस्दासँग रजिस्ट्री विवाह भएको थियो। त्यसताक दुवै सँगै बस्दै आएका थिए। सुष्नालाई उनका श्रीमान गोपालले कुटपिट गरेको परिवारको आरोप छ। सुष्ना २५ जुनदेखि बेपत्ता छिन्। यसबारे उनका श्रीमानलाई सम्पर्क गर्दा उनले वास्ता गरेनन्। त्यसपछि परिवारले एनजेपी पुलिस थानामा हराएको र खोरीबारी पुलिस थानमा अपहरणको उजुरी दिएका थिए।। तर, सुष्नाको अहिलेसम्म कुनै पत्ता लागेको छैन। श्रीमानले सुष्नाको हत्या गरी लाश लुकाएको परिवारको आरोप छ। सोही आरोप लगाउँदै स्थानीय र परिवारका सदस्यले सडक अवरुद्ध पारेर विरोध गरेका थिए। स्रोतका अनुसार एनजेपी थानाले सुष्नाका श्रीमान् गोपाल हस्दालाई नियन्त्रणमा लिएको छ। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।