मिरिक: मिरिक महकुमा अन्तर्गत सौरेनी बस्तीस्थित घुमाउनेटार सार्वजनिक भवनमा आज युग पुरुष स्व. खप्पनदास राईको जन्म जयन्ती समारोह पालन गरियो। प्रेम साम्पाङको अध्यक्षतामा सम्पन्न समारोहमा मुख्य अतिथिके रूपमा मिरिक पञ्चायत समितिका चेयरम्यान कैलाश खवास अनि विशिष्ट अतिथिको रूपमा जीटीएका कार्यकारी सभासद अरुण सिंग्ची उपस्थित थिए। युवा सचेतक एवं समाजसेवी मनोज नाम्दुङद्वारा सञ्चालित समारोहमा स्व खप्पन दास राईको जीवन संघर्ष र उनको सामाजिक योगदानबारे आयोजक समितिका अध्यक्ष एनडी नामदुङले प्रकाश पार्दै स्व. खप्पनदास राई जस्ता ब्यक्तित्वको सक्रियतामा शुरु भएको सौरेनी बस्तीको गरिमामय इतिहासलाई दिगो राख्न आजको युवापीडिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने आवश्यकतामाथि जोड दिए। स्व. खप्पनदास राईले सौरेनी बस्तीका नागरिकहरुलाई खासमलवासी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने बस्तीमा प्राथमिक पाठशाला निर्माण गर्न, सडक निर्माण, प्राथमिक स्वस्थ्य केन्द्र निर्माण, लगायत कविर पन्थ समाजप्रतिको योगदानलाई स्मरण गर्दै मूल्यांकन गर्न आवश्यक रहेको वक्ताहरुले बताए। यस अवसरमा उनको स्मृतिमा सडकमार्गको नामकरण गरियो भने कबीर पन्थी समाजबाट बिनोद राङरिसा साहेबद्वारा शब्द भजन प्रस्तुत गरियो भने स्थानीय रोयल अकादमीका मसिना नानीहरूले नृत्य तथा गीत प्रस्तुत गरे।
यस समारोहमा मिरिक पञ्चायत समितिका सदस्यहरु, ग्राम पञ्चायत एकका प्रधान- प्रधान अनि सदस्यहरु लगायत स्थानीय नागरिकहरु उपस्थित रहेका थिए।