१३ अगस्तः सातपल्टका बेलोन डीओर विजेता लियोनल मेस्सी २००५ पछि पहिलोपल्ट यस प्रतिष्ठित पुरस्कारको निम्ति नामांकित ३० खेलाड़ीहरूका सूचीमा छैनन्। अर्जेण्टिनाका यस दिग्गज फूटबलरले गत वर्ष पोल्याण्डका स्टार फरवर्ड रोबर्ट लेवाण्डोस्कीलाई पछि छोड़ेर पुरस्कार जितेका थिए। गत सत्रमा आफ्नो क्लब टीम पेरिस सेण्ट जर्मेन (पीएसजी)-बाट खेल्दै औसत प्रदर्शनले गर्दा यस साल उनलाई नामांकन प्राप्त भएन। मेस्सीले २०१९-मा पनि यो पुरस्कार जितेका थिए तर २०२०-मा चाहिँ कोरोना महामारीले गर्दा पुरस्कार रद्द गरिएको थियो। मेस्सी मात्र नभएर पीएसजी-का अन्य एक स्टार फूटबलर नेमारले पनि यसपाली शीर्ष ३०-मा स्थान बनाउन सकेनन्। बेलोन डीओर पुरस्कारको निम्ति नामांकित खेलाड़ीहरूमा लेवाण्डोस्की, कीलियन एम्बाप्पे, करीम बेञ्जेमा, पाँचपल्टका विजेता क्रिस्टियानो रोनाल्डो सामेल छन्। यसको साथमा मोहम्मद सलाह, सेडियो माने, केविन डी ब्रूइन र ह्यारी केनको नाम पनि रहेको छ। मेस्सीले सर्वाधिक ७ पल्ट बेलोन डीओर पुस्कार जितेका छन्। यसबाहेक सर्वाधिकपल्ट नामांकन प्राप्त गर्ने रेकर्ड चाहिँ रोनाल्डोको नाममा रहेको छ।