डा. एडोन रोंगोंगका कृतिहरूलाई पुन: प्रकाशन गरिनु पर्ने आवश्यकतामाथि जोड
सिलगढी: नेपाली साहित्यको वरिष्ठ साहित्यकार एंव इसाईहरूका अगुवा रेभरेन्ट डा. एडोन रोंगोंगको स्मरणमा कार्यक्रम सम्पन्न भएको छ। डा. एडोन रोंगोंगको विभिन्न योगदान र कार्यहरूलाई स्मरण गर्दै आयोजित उक्त कार्यकम सिलगढीको न्यु रंगिया अन्तर्गत बैरातीसालस्थित ईण्डियन क्याम्पस क्रुसेड फर क्राइस्ट भवनमा सम्पन्न भएको छ। पास्टर आनन्द राईको शुरुको प्रार्थनाद्वारा थालिएको उक्त कार्यक्रममा डा. एडोन रोंगोंगको जीवनी र विभिन्न पक्षहरूलाई लिएर भिडियोमार्फत् देखाइयो। मोजेस सन्यासीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण डा. एडोन रोंगोंगकी पत्नी सेविका मन्नु रोंगोंगले राखेका थिए।

उनले आफ्नो डा. एडोन रोंगोंग विषयमा केही आशिषित कुराहरू साझा गरेका थिए भने कार्यक्रममा सबैलाई स्वागत जनाएका थिए।कार्यक्रममा डा एडोन रोंगोंगद्वारा लिखित र दिव्य खालिङद्वारा संगीतबध्द रहेको गीत वरिष्ठ गायक जर्ज पेगाद्वारा प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा डा. एडोन रोंगोंगले नेपाली साहित्य क्षेत्रमा दिइएको योगदानलाई लिएर विमर्श कार्यक्रम सम्पन्न भएको छ। उक्त विमर्श कार्यक्रमलाई कवि एंव पत्रकार हनोक थापाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए भने विमर्शकर्ताको रूपमा वरिष्ठ साहित्यकारहरू क्रमैले ज्ञानेन्द्र खतिवड़ा, मोहन ठकुरी, प्रोफेसर डा. मोहन पी दाहाल, सलोन कार्थक, प्राध्यापक मेहेरमान सुब्बा आदि उपस्थित रहेका थिए।

उक्त विमर्श कार्यक्रममा डा एडोन रोंगोंगको साहित्यिक योगदानहरू विषयमा चर्चा परिचर्चा गरिएको थियो। यसको साथै एडोन रोंगोंगले नेपाली साहित्यमा दिएको योगदानको मूल्यांकन भयो भएन साथै डा. एडोन रोंगोंगलाई नेपाली साहित्यमा जीवित राख्नलाई के कस्तो कामहरू गर्न सकिन्छ भन्ने विषयमा विमर्श गरिएको थियो। त्यसरी नै उनको कथाकारिता र लेखन विषयमा चर्चा परिचर्चा गर्दै उनको कथाहरू सिलवेसमा राखिएको र उनको कथहरूलाई विद्यार्थीहरूका लागि पनि समावेस गर्नु पर्ने विषयमा विमर्शकर्ताहरूले चर्चा परिचर्चा गरेका थिए। उक्त विमर्शमा डा. एडोन रोंगोंगको कथा कृतिहरू लगायत अन्य साहित्यिक कृतिहरूलाई पुन: प्रकाशन गरिनु पर्ने विषयमा परिचर्चा गरिएको छ। कार्यक्रममा डा एडोन रोंगोंगद्वारा लिखित ‘यो दार्जिलिङ प्रभुको हो’ गीत कालेबुङका कोयर झुण्डद्वारा प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा डा. एडोन रोंगोंगको आत्मिक जीवन र इसाई सेवाकाई विषयमा विमर्श कार्यक्रम पनि गरिएको थियो। उक्त विमर्श कार्यक्रमलाई पास्टर शरण शरदले सहजकर्ताको रूपमा भूमिका निर्वाह गरेका थिए। यस विमर्श कार्यक्रममा रेभरेन्ट सलोन कार्थक, रेभेरेन्ट डा. छत्र सुब्बा पावल, चन्द्र सेवा, प्रेरित एनडी थुलुङ र डा. मंगलमान महर्जन आदिले सहभागिता जनाएका थिए। यस विमर्शमा डा. एडोन रोंगोंगले गरेका सेवाकाईका पक्षहरू साथै इसाई अगुवाहरू जन्माउन गरेका विभिन्न कार्यहरू विषयमा चर्चा परिचर्चा गरिएको थियो। विमर्शकर्ताहरूले सेवाकाईको क्षेत्रमा डा. एडोन रोंगोंगसित सहलकार्य गरेको अनुभवहरू र उनीबाट सिकेका कुराहरू पनि साझा गरेका थिए। कार्यक्रममा कालेबुङको कोयरद्वारा धन्यवाद गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन पावल रोंगोंगद्वारा गरिएको थियो भने अन्तिम प्रार्थना पास्टर परशु गुरुङले राखेका थिए। कार्यक्रममा विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूले डा. एडोन रोंगोंगको निधन टला शोक समवेदना परिवारको पक्षमा उनकी पत्नी मन्नु रोंगोंग अनि छोरीहरूलाई सुम्पेका थिए। यस क्रममा शब्द समय सालबारी, सिलगढी साहित्य संस्थान् , भारतीय नेपाली भाषी इसाई स्रष्टाहरूका साझा मञ्च स्रष्टा सङ्गम, सम्मान परिवार, ईभाञ्जलिकल ब्याप्टिस्ट चर्च एसोसिएशन, वास्ता लगायत अन्य विभिन्न संघ संस्थाहरूले डा. एडोन रोंगोंगलाई श्रध्दाञ्जली अर्पण गर्दै उनको परिवारलाई शोक समवेदना पत्र प्रदान गरेका थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै डा. एडोन रोंगोंगकी पत्नी मन्नु रोंगोंगले आफ्नो पति डा एडोन रोंगोंगको स्मरणमा गरिएको कार्यक्रममा उपस्थित सबैमा धन्यवाद दिएकी छन्। उनले यस कार्यक्रममा डा. एडोन रोंगोंगको विषयमा धेरै कुराहरू सिकेको बताउँदै उनलाई एकदिन कार्यक्रममा मात्र सम्झने होइन तर सदैव उनको कार्य र योगदानहरूलाई सम्झना गरिदिने अनुरोध पनि गरेका छन्। उनले आजको कार्यक्रममा धेरैजना उपस्थित भएर पनि बोल्न नपाएकोले आगामी दिनमा पनि डा. एडोन रोंगोंग विषयमा कार्यक्रम आयोजना गरिदिने अनुरोध गरेका छन्। कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी मोजेस सन्यासीले विस्तृत रूपमा जानकारी गराएका छन्।
कार्यक्रममा सिक्किम, नेपाल, दार्जिलिङ, कालेबुङ, खरसाङ, सिलगढी, बिजनबारी, डुवर्स, तीनधारे, मिरिक लगायत विभिन्न स्थानहरूबाट साहित्य, संगीत, सेवाकाई क्षेत्रका मानिसहरू उपस्थित रहेका थिए।