असारे पन्ध्र

IMG-20240629-WA0179

कृषिको महत्त्व र विशेषतालाई संस्कृतिसित जोड्ने पर्व असारे पन्ध्र हो। जेठको गर्मीमा घामले धरतीका रस सबै चुसेको हुन्छ। भीषण ऊष्णताले प्रकृति तप्त बनेको हुन्छ। असार लागेपछि पानी पर्न थाल्दछ। धरतीमा जलसेचन हुनथालेपछि प्राणीले पनि प्रकृतिमा आड़भर पाउँदछ। पन्ध्र दिनमा त बारी थिलथिलो हुँदछ। धान रोप्ने साइत असारे पन्ध्र मानिन्छ। असारको पन्ध्रमा धान एक ‘मानो रोपे मुरी फल्दछ’ भन्ने लोक विश्वास छ।

     “असार पन्ध्र दही चिउरा खाने,

     सबै तीर्थ छोडी मालिक धाउने ।”

आफ्नो ग्रामीण अनुभव साझा गर्दै प्रो पुष्प शर्माले यसो भन्नुभयो, “डेढा, पच्चीसा, अधिया, कूत तिरेर ‘मालिक’-को खेती लाउने पाखुरे, कूतिया, रैतीहरू असार पन्ध्रका दिन केराको काइयो, फर्सीका गट्टा, लौका, धिरौँला, चिचिन्डो, लट्टे, पछुवा मकैका झुत्ता, चाकासँगैको मौरीको मह र तिहुन खाने, सागपात लिएर जग्गाधनी मान्न जाने चलन गाउँ बस्तीमा अझै छ। भूमिपतिले पनि आफ्नो पक्षबाट बर्खे लुगाफाटो, दही-चिउरा-केरा, मासुभात, टुसा उमारेको मासको तिहुन खुवाउने र दही अक्षता पर्सेर दक्षिणा दिने चलन छ। यस पर्वका दिन धान रोपिसकेर मोइजारो गर्ने, बेठी लाएर रोपाइँ सिध्याउने, पर्मा तिर्ने काम गरिन्छ। कृषिकर्ममा कामको धुपेडी पर्दा होस् वा अन्य काममा धमाधम, भ्याइ-नभ्याई काम गर्नु पर्दा ‘असारको पन्ध्र’ भन्ने लोकोक्ति नै रहेको पाइन्छ। मानु रोपेर मुरी फलाउने र मङ्सिरमा ढिकुटी भर्ने बिउ बल्याएर राख्ने, धानका बालाको धानपुतली बनाएर घरका भित्तामा सजाउने, न्वागी खानेसम्म कृषकहरूलाई यस पर्वले जोडेर लान्छ।”

 असार पन्ध्रमा हल गोरु नार्दछन्, सञ्चित धानको खिर खाँदछन्। बेर्ना मुट्ठीमा राखी हिलोमा सार्दछन्। डोकामा बिऊ राखी हात गोडा लम्काउँदछन्। हली र बाउसे पनि रौसे बन्दछन्। कति ठाउँ पञ्चे बाजा पनि बजाइन्छ। असार पन्ध्र लेक बेँसी खोँचमा धान रोपाइ दिवस हुँदछ। हिलाम्मे खेतमा काम गर्दा असारे गीत गाउँदछन्, यसलाई रसिया गीत पनि भनिन्छ। नगर सरुवा संस्कृतिप्रेमीहरू गाउँ धाउँदछन् र एक दिन भए पनि हिलो खेलेर रमाइलो गर्दछन्। कामको चटारोमा भात-तिहुन पकाइबस्ने समय हुँदैन। पहिल्यैदेखि सञ्चय गरिएका चिउरामा बनिबनाऊ दही मिलाएर खाँदछन्। मानो रोपेर मुरी फलाउनु भनिन्छ। अचेल नानीहरूले न मानो देखेका हुन्छन् न तौलको परिमाण मुरी नै सुनेका हुन्छन्। नबुझी ‘मुरीमुरी धन्यवाद’ भनेको चाहिँ सुनेका हुन्छन्। माना, पाथी, धार्नी, मुरी आदि तौलका परिमाण (measures of weight) पृथ्वीनारायण शाहका पुर्खा राम शाहले गोर्खामा बसाएको अनि यसबाहेक अरू सुधार पनि गरेका हुनाले समाजमा एउटा लोकोक्ति स्थापन भयो-

“निञा हराए गोर्खा जानू,

     बिद्दे हराए काशी जानू ।”

ती तौलका परिमाण यस्ता थिए :

  • १ तोला = १८० अन्नदाना = ११.६ ग्राम (१०-१२ ग्राम अनुमानत:)
  • १ पावा = १/४ सेर = १९ तोला = २०० ग्राम
  • १ मानो = १/२ सेर = ४०० ग्राम
  • १ सेर = ८० तोला = ८०० ग्राम
  • १ धार्नी = २.५ सेर = २ किलोग्राम
  • १ पाथी = ४ सेर = अनुमानत: ३.२ – ३.६ किलोग्राम
  • १ मुरी = २० पाथी = १६ पाउण्ड = ७ किग्रा
  • ८ माना = १ पाथी
  • २० पाथी = १ मुरी
  • १ पाउण्ड = ०.४५४ किग्रा
  • १ मण्ड (mun मन) = ३७.३२४२ किग्रा

यी तौलका परिमाण अचेल प्रचलनमा नभए पनि सांस्कृतिक महत्त्व भने अद्यावधि छँदैछ।

असारे पन्ध्रमाथि निबन्धकार लक्ष्मीप्रसाद देवकोटाको इतिहासप्रसिद्ध रचना ‘आषाढको पन्ध्र’ छ। ऋद्धिबहादुर मल्लको शारदा पत्रिकामा प्रकाशित देवकोटाको पहिलो निबन्ध हो। यसमा हिमाली जनजीवनको सुन्दर चित्रण छ, रोपाइको वर्णन छ, हिलो छेप्दा पनि हर्षित बनेको दृश्य छ। हुनता नेपाली साहित्यका कविश्रेष्ठ अर्थात् कविवर भानुभक्त आचार्य पनि असार मासको २९ गते जन्मेका हुन्। कवि धरणीधरले भानुको जन्ममासलाई ‘असार जन्म सार्थक भो’ भनेका छन्। भूपि शेरचनले पनि असारबारे लेखे – ‘चुहाउँदै पसिनाको धार, प्रत्येक वर्ष आउँछ असार’।

आदिम अवस्थामा मनुष्य जङ्गली पशुहरूका मारेर आफ्ना उदरपूर्ति गर्दथे। पश्चात्‌ उनीहरूले कन्दमूल, फल र आफै उम्रेका अन्नको प्रयोग आरम्भ गरे; अनि यसै अवस्थामा कुनै समय खेतीद्वारा अन्न उत्पादन गर्ने विधि आविष्कार गरे होला। १३०००-देखि ७००० इसापूर्वमा मानिसले खेती गर्नथालेका कुरा इतिहासबाट थाहा पाइन्छ। अफ्रिका, अरबका मरुभूमि तथा मङ्गोलिया, तिब्बतका रुगरुगे पाहाड़मा अझ खेती हुँदैनन्। अझ संसारका कैञौ जातिले खेती नै गर्दैनन्। भारतमा पाषाण युगमा कृषिको विकास कति र कुन प्रकार भयो भन्ने सम्प्रति कुनै जानकारी छैन। सिन्धु नदी तटका पुरावशेषहरूको उत्खननबाट भने आजभन्दा पाँच हजार वर्षपूर्व त्यहाँ कृषि अत्युन्नत अवस्था थियो भन्ने प्रमाण पाइन्छ। आर्यहरू आएपछि कृषिमा अझ मन दिनथाले। वेदमा अन्नाहुति दिएर उन्नत उब्जनीको कामना गरिएको छ। वेदान्तमा कोशदर्शनअन्तर्गत अन्नमय कोशलाई प्राथमिक महत्त्व दिए। तैत्तिरीय उपनिषद्, द्वितीयोऽनुवाकः, भृगु वल्ली, प्रथम अनुवाक: -मा भने-

“अन्नं ब्रह्मेति व्यजानात् । अन्नाद्ध्येव खल्विमानि भुतानि जायन्ते। अन्नेन जातानि जीवन्ति। अन्नं प्रयन्त्यभिसंविशन्तीति॥”

अर्थात् अन्न नै ‘ब्रह्म’ हो भन्ने कुरा उनले बुझे किनभने अन्नबाटै समस्त प्राणी उत्पन्न हुँदछन् तथा उत्पन्न भएर ती अन्नद्वारा नै जीवित रहँदछन् तथा अन्नमै ती पुनः फर्केर समाविष्ट हुँदछन् भन्ने प्रतीत भएको ठाने। कृषिजीवी समाजका चाड़पर्व कृषिसितै जोड़िएका हुन्छन्। असारभरि खटेका बुहारी साउनेपानी छल्ने निहुँमा माइत गई विश्राम गर्दछन्। तब तीज मनाउँछन्। असार पन्ध्रको नाममा अचेल नगरमा पनि बिरुवा रोप्ने थिति गर्दछन्। दही जमाएर चिउरा मिसाई दहीचिउराको टीका लाउँदछन् र वरिपरि बाँड़िखाँदछन्। गाउँले जीवनमा जस्तै नागरी जीवनमा पनि असार पन्ध्र गोर्खा जातिका लागि एउटा महत्त्वपूर्ण पर्व बनेको छ। धान रोप्न सम्भव नभएमा रुख वा फल वा फूल वा तिहुन वा कुनै उपयोगी उद्भिद् रोपेर रोपाइको थिति पालन गर्दछन् अनि अघिबाटै जोहो गरिएको दही-चिउरा खाने रीति पालन गर्दछन्। जातीय अस्तित्व रक्षित गर्ने असारे पन्ध्र वा असारको पन्ध्र वा दही चिउरा खाने दिन वा रोपाइँ जात्रा वा धान दिवस वा मानो रोप्दा मुरी फल्ने विश्वास पर्व चिरञ्जीवी होस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement